Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गत आवमा चिडियाखानाको आम्दानी रु १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन   


सूचना कुण्ड
गत आवमा चिडियाखानाको आम्दानी रु १७ करोड ७५ लाख, लक्ष्यमा पुग्न सकेन   


   सूचनाकुण्ड समाचारदाता  

 काठमाडौँ, ४साउन  :    अर्थिक वर्ष २०७९/८० मा जावलाखेलस्थित सदर चिडियाखानाले रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन ।    
    
 गत आवमा उक्त स्थानमा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो ।    
    
 यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा रु तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि रु २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो ।    
    
 अघिल्लो आर्थिक वर्षमा आठ लाख ४३ हजार छ सय ३० ले चिडियाखानाको अवलोकन गर्दा रु १४ करोड १८ लाख ४२ हजार आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ ।    
    
 कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो । अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।    
    
 चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।    
    
 तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गर्नुभएको हो । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।    
–––   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend