Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्छ– उपराष्ट्रपति


सूचना कुण्ड
  जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्छ– उपराष्ट्रपति

सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, साउन  ३  :    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।    
    
सङ्घले आज आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा सङ्घले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गर्नुभयो ।    
    
“नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भई यहाँ तीन तहको संरचनाअनुसारको सरकार छ । यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरूलाई थप प्रशिक्षण, ज्ञान, कार्यदक्षता र सीपको आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।    
    
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।    
    
“वर्गीय, जातीय, क्षेत्रीय, सङ्घीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पका साथ अघि बढ्नु पर्दछ”, उहाँले भन्नुभयो ।    
    
समतामूलक समाज स्थापना गर्न जनअपेक्षाअनुरुपको जनमुखी सेवा प्रभावलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारी, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न सङ्घले थप उत्तरदायित्व बोध गर्नुपर्ने बताउनुभयो ।    
    
“हामी डिजिटल युगमा रहेकाले त्यहीअनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जित गर्दै अघि बढ्नै पर्दछ । यसले सेवा प्रवाह छरितो, छिटो, सरल, सुगम, सहज, पारदर्शी, जनमुखी र जवाफदेही मात्र बनाउँदैन, जनगुनासो र जनअपेक्षाअनुसारको सेवासमेत सेवाग्राहीले पाउन सक्छन्”, उहाँले भन्नुभयो ।    
    
उहाँले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सङ्घले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न सङ्घ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उहाँले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न सङ्घ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गर्नुभयो ।    
    
साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यअनुसार सरकारको अनुदानित रासायनिक मलका अतिरिक्त आफ्नैतर्फबाट समेत गैरअनुदानित मल आयात गरी किसानसमक्ष बिक्री वितरण गरिरहेको बताउनुभयो ।    
    
कर्पोरेसनले गहुँको बीउ प्रशोधन गरी किसानसमक्ष पुर्याउने र सोही बीउबाट उत्पादित गहुँ किसानबाट खरिद गरी मैदा, पिठो उत्पादन गरी सर्वसुलभरूपमा बिक्री वितरण गरिरहेको उहाँको भनाइ छ ।    
    
उत्पादन र बिक्री–वितरणका क्षेत्रमा नुन, चिनी, पिठो, चामल, तेल, दाललगायतका अतिरिक्त खाना पकाउने एलपी ग्यास, कागजको बिक्री वितरण गर्दै आएको जानकारी दिँदै उहाँले देशमा आइपर्ने प्राकृतिक प्रकोप एवं विपत्तिको समयमा कर्पोरेसनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा सक्रिय भूमिका खेलेको बताउनुभयो ।    
    
सम्मानित व्यक्तित्व भानुप्रसाद आचार्यले आर्थिक सुधारको प्रक्रियालाई अवरुद्ध नगरी परिमार्जनसहितका उपायलाई अवलम्बन गरेर निरन्तरता दिइनुपर्ने बताउनुभयो । आन्तरिक उत्पादन, उत्पादकत्व, माग र आपूर्ति बढाउने माध्यम नै आर्थिक क्रियाकलापको वृद्धि हो भन्दै उहाँले नवीन सूचना प्रविधिको उपयोग र उत्पादन तथा सेवा क्षेत्रको विस्तार गरेर आर्थिक क्रियाकलाप विस्तार गरिनुपर्ने बताउनुभयो ।    
    
अर्का सम्मानित व्यक्तित्व गोरक्षबहादुर न्हुच्छें प्रधानले नयाँ पुस्ताले पनि देशको शासनभार ग्रहण गर्न तयार हुनुपर्नेमा जोड दिँदै नयाँ पुस्ताले देश विकासको गतिलाई तीव्र पार्ने विश्वास व्यक्त गर्नुभयो ।    
    

प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान   
     
सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गर्नुभयो ।    
    
 सम्मानको राशि जनही रु दुई लाख रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मान कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो ।    
    
 सम्मानित व्यक्तित्व प्रधानले करिब चारदशक सरकारी सेवामा बिताउनुभएको थियो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गर्नुभएको थियो । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहनुभएको थियो ।    
    
 अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसक्नुभएको थियो ।    
    
 सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्टट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहनुभएको थियो ।    
    
 हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसक्नुभएको छ ।    
    
 सङ्घ र साल्टट्रेडिङ कर्पोरेशनको समझदारीमा २०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । पच्चीस वर्ष कर्पोरेसनको महाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ र हक्की स्वभावका धनी मल्ललाई ‘रोलमोडल’ प्रशासक÷व्यवस्थापकका रूपमा लिइन्छ । उहाँको स्मरणमा कर्पोरेसनको सौजन्यमा सङ्घले सम्मान स्थापना गरेको हो ।    
–––  

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend