Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

टेम्पो चलाएर राम्रो आम्दानी  


सूचना कुण्ड
टेम्पो चलाएर राम्रो आम्दानी  

      
 सूचना कुण्ड समाचारदाता  
काठमाडौँ, पुस ५ ः  
झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो ।    
    
कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै गएको उहाँले बताउनुभयो ।    
    
 “काठमाडौँमा यत्तिका वर्ष टेम्पो चलाएर भएको आम्दानीले घरखर्चसँगै छोरीलाई ब्याचलर पढायौँ, अहिले छोरी पढ्न अष्ट्रेलिया पुगेकी छ”, उहाँले भन्नुभयो । तर पछिल्लो समय आफू रोगले थलिन थालेपछि टेम्पो चलाउन पनि गाह्रो हुने अवस्था आएको उहाँको भनाइ छ ।    
    
“सकेका बेला राति २ बजे उठेर पनि टेम्पो चलाइयो, त्यसैले होला अहिले औषधिले शरीर धान्ने अवस्था आएको छ”, उहाँले भन्नुभयो । आफू बिरामी भएपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किएको उहाँले सुुनाउनुभयो ।    
    
कक्षा छ सम्म पढ्नुभएकी रोकाले कारोना महामारीमा भने आम्दानीका लागि वैकल्पिक पेसा अपनाउनुभयो । “लकडाउनमा राति १÷२ बजे नै पुगेर मकै ल्याउने र पोलेर बेच्न थाल्यौँ, तरकारी पनि बेच्यौ”, उहाँले भन्नुभयो, “त्यसैले लकडाउनमा आर्थिक समस्या हुन पाएन ।”    
    
 हाल ऋणमा किनेको टेम्पो चलाउँदै आउनुभएकी रोकाले दिनभरको कमाइले घरखर्च टार्न र ऋणको किस्ता तिरिरहेको बताउनुभयो । करिब डेढ दशकमा राजधानीका सडकमा टेम्पो गुडाउँदै आउनुभएकी उहाँसँग महिला भएकै कारणले हिंसा र अपमान सहेका र ट्राफिक प्रहरीसँग झगडा परेका कैयन अनुभव छन् ।    
    
    
उहाँ जस्तै राजधानीका सडकमा टेम्पो चलाउने पाल्पाका जनार्दन बराल पनि हुनुहुन्छ । विगत आठ वर्षेदेखि टेम्पो चलाउँदै आउनुभएका उहाँ टेम्पो चलाएर दैनिक रु तीन हजार पाँच सय आम्दानी हुने बताउनुहुन्छ । कोरोना महामारीअघिको तुलनामा भने आम्दानी घटेको उहाँको भनाइ छ ।    
    
“पहिले त दिनकै ४५ सयसम्म हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिलेको जस्तो अचेल यात्रु चढ्दैनन्, पठाओ जस्ता एपले टेम्पो चढ्ने यात्रु घटेका छन् ।” अहिले भाडा बढेपनि यात्रु थोरै चढ्ने गरेकाले आम्दानी कम भएको उहाँको अनुभव छ ।    
    
उहाँका अनुसार ३५ सयबाट टेम्पो चार्ज गरेको र मिस्त्री खर्च गरी दैनिक रु पाँच सय र किस्ता वापतको केही रकम घटाएपछि बाँकी पैसा उहाँको बचत हो । उहाँ सुन्धारा-बाफल-छाउनी-सीतापाइला रुटमा दैनिक चार टिप टेम्पो चलाउनुहुन्छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend