Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चुरे संरक्षणको खाँचो   


सूचना कुण्ड
चुरे संरक्षणको खाँचो   

–डा विजयकुमार सिंह   
काठमाडौँ, असार १२ः नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २ को निर्णयनुसार चुरे क्षेत्र भूभौगर्भिक रुपमा कमजोर, धेरै पानी पर्ने र जलाधारको महत्वपूर्ण क्षेत्र, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरुको वासस्थान, जैविक मार्गका रुपमा चुरे क्षेत्रलाई लिने गरिन्छ । नेपालको कूल भूभागको करिब १२.७८ प्रतिशत क्षेत्र ओगटेको तत्कालीन ३६ जिल्लाका (हाल नवलपरासी जिल्लालाई दुई भागमा बाँडेपछि ३७ जिल्ला) मा ५० लाख माानिसको बसोबास रहेको छ । चुरे क्षेत्र, यसको जलाधार क्षेत्र र नदी प्रणालीलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण ऐन २०५३ को दफा १० को उपदफा (१) बमोजिम वातावरण क्षेत्र घोषणा गरिएको छ ।    
    
 पूर्व–पश्चिम लोकमार्ग, मदन भण्डारी लोकमार्ग र उतर–दक्षिण पहुँच मार्गहरु बनेदेखि खोरिया फँडानी गरी चुरेमा बसोबास गर्ने क्रम पनि बढ्दो छ । चुरे क्षेत्रमा लालपुर्जा नभएको र खेतीपाती गरी जग्गा उपभोग गर्नेको गाउँ बस्ती तथा घरधुरीको सूची लामो रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । चुरेको वन जङ्गल मासेर खेतीपाती गर्ने, खुल्ला चरिचरन गर्ने गराउने, काठ र दाउराको व्यापक कटानी, वन डढेलो, बालुवा तथा गिट्टीे उत्खनन आदि कामले गर्दा चुरेको पारिस्थितिकीय प्रणालीमा व्यापक क्षति पुगेको छ । वर्षाको समयमा चुुरे क्षेत्रबाट गिट्टी, बालुवा बाढीले बगाएर तराईको उब्जाउ जग्गामा थुपारेर भूमि मरुभूमिका रुपमा परिणत हुँदैछ । चुरेबाट बग्ने नदीका बाढीले नदी किनारको जग्गा कटान गरेर नदीको चौडाइ पनि बढ्दो छ । तराईको तल्लो भागमा बाढीले डुबानको समस्या ल्याएको छ ।    
    
 कपिलवस्तुमा रहेको देशकै सबैभन्दा ठूलो दुई सय २५ हेक्टरमा फैलिएको मानव निर्मित अन्तरराष्ट्रिय रामसार सन्धिमा समावेश भएको जगदीशपुर तालको पानीको स्रोत वाणगङ्गा नदीको चुरे क्षेत्रमा फैलिएको जलाधार क्षेत्र नै हो । यस्तै अन्तरराष्ट्रिय रामसार सन्धिमा समावेश भएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने तीन हजार २०० हेक्टरको बीस हजारी ताल र कैलालीको दुई हजार ५६३ हेक्टरमा फैलिएको घोडाघोडी ताल त झन चुरे क्षेत्रमा नै अवस्थित छ । दाङको घोराहीमा रहेको ५.५ विघा (३.७ हेक्टर) मा फैलिएको जखिरा ताल, मोरङको लेटाङमा रहेको १५ हेक्टरमा फैलिएको राजारानी तालको पानीको स्रोत पनि चुरे नै हो । चितवनका १७ वटा तालहरु, दाङको जखिरालगायत नौवटा ताल, कञ्चनपुरको वेदकोट ताल र झिमिला ताल, सुर्खेतको जजुरा ताल, सिरहा बाबा ताललगायत चुरे क्षेत्रमा करिब ३५ भन्दा बढी ठूला तालतलैयाको पानीको स्रोत चुरे पहाड हो ।    
    
 यी तालतलैयाहरु सिँचाइ, खानेपानीका स्रोत, जलचर तथा विभिन्न जीवजन्तु र पशुपक्षीको बासस्थान पनि हुन् । यसबाहेक भावर र तराईमा रहेका सर्लाहीको नारही मैन ताल, बाराको हलखोरिया दह, बाँकेको खस्रे ताल, बर्दियाको तारा ताल, धनुषाको जङ्गल दह, कैलालीको पुरैना र जोखर ताललगायत एक सय २० भन्दा बढी तालको पानीको स्रोत चु्रे पहाड नै हो । यी ताल तलैयाहरु स्वदेशी र पाहुना चराहरुको महत्वपूर्ण वासस्थान हुनाका साथै लाखौँ हेक्टर जमिन सिञ्चित भएको छ । यी तालहरुले भावर र तराईको जमिनमुनिको पानी रिचार्ज गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । एकपटक माटो, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेपछि त्यसले पारिस्थितिकीय प्रणालीमा दीर्घकालीन असर गर्दछ ।    
    
 नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघ, गैँडा, हात्ती, गोहीलगायत अन्य वन्यजन्तुको खानेपानीको स्रोत खोल्साखोल्सीहरु तथा प्राकृतिक वा मानव निर्मित तालतलैयाहरुको पानीको स्रोत भनेकै चुरे हो । चितवन राष्ट्रिय निकुञ्जभित्र तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विसहजारी ताल, देवी ताल, नन्दन ताललगायत १० वटा ताल, पर्सा राष्ट्रिय निकुञ्जभित्र मानव निर्मित रमौल प्रतापपुर ताल, बर्दिया राष्ट्रिय निकुञ्जभित्र पनि १९ वटा सानाठूला तालको पानी चुरे क्षेत्रबाट नै आउँछ । चुरेभित्र पर्ने बाँके राष्ट्रिय निकुञ्जभित्र १५ वटा खोल्साखोल्सी र मानव निर्मित आठवटा तालतलैयाको स्रोत पनि चुरे क्षेत्र नै हो । चुरे क्षेत्र नेपालको जैविक विविधताको धनी क्षेत्र हो । बाघ, गैँडा, हात्तीलगायत महत्वपूर्ण वन्यजन्तुको बासस्थान यसै चुरे र भावर क्षेत्रमा पर्दछन् ।    
    
 यसबाहेक चुरे क्षेत्रमा वा चुरेसँग जोडिएका एक सय ३६ वटा पालिकामा बसोबास गर्ने मानिसकोे पानीको एकमात्र स्रोत चुरे पहाड मात्र हो । हेटौँडाको माछा केन्द्रमा रहेको माछापोखरीहरुको पानीको स्रोत चुरे नै हो । हेटौँडा उपमहानगरपालिकाको ठाडो खोलामा ५० भन्दा पनि साना पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा उत्पादन गरी त्यहाँ महिला समूहले उदाहरणीय कार्य गरेका छन् । सिँचाइ आयोजनाहरु धनुषा र सिरहामा कमला, चितवनको खगेरी, मकवानपुर र चितवनमा पूर्वी राप्ती सिँचाइ, रौतहटमा लालवकिया सिँचाइ, बर्दियाको रिहु खोला सिँचाइ, बाँकेमा झिगरिया नाला सिँचाइलगायतका थुप्रै साना र मध्यम खालका आयोजनाहरुको पानीको जलाधार क्षेत्र चुरे नै हो ।    
    
 चुरे क्षेत्रमा रहेका गाईघाट, सिन्धुली वाजार, हेटौंडा, चितवनको पर्सा, दाङ, देउखुरी, लम्ही, सुर्खेतजस्ता मुख्य सहर तथा अन्य साना ठूला शहरका वासिन्दाको खानेपानीका मुख्य स्रोत चुरे पहाड नै हो । चुरे पहाडको घाँच अर्थात् भावर क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा पर्ने काँकडभिट्टा, दमक, बिर्तामोड, उर्लावारी, झुम्का, धरान, इटहरी, कल्यानपुुर, मिरचैया, लहान, गोलबजार, ढल्केबजार, बर्दिवास, लालबन्दी, हरिऔन, चन्द्रपुर, निजगढ, पथलैया, अमलेखगञ्ज, गैँडाकोट, कावासोती, दुम्कीवास, सुनवल, वुटवल, कोहलपुर, अत्तरियाजस्ता सहरमा पानीको आपूर्ति चुरे पहाडबाट नै हुने गर्दछ ।    
    
 चुरे पहाड चुरे तथा तराईमा बसोबास गर्ने नेपालको जनसङ्ख्याको ६१ प्रतिशत जनताको लागि जीवन रेखा हो । नेपालको झापादेखि कञ्चनपुरसम्म चुरे तथा तराई क्षेत्रमा बसोबास गर्ने जनताको खानेपानी र सिँचाइका लागि पानीको एकमात्र स्रोत र जलाधार क्षेत्र चुरे पहाड हो । चुरेको कमलो खुकुलो भूबनावटले वर्षायाममा वन जङ्गलको रूखबिरुवाको सहायताले यसले आफ्नो गर्भमा वर्षाको पानी सोसेर यसले जमिनमुनिको पानी रिचार्ज गर्दछ । कतिपयले चुरे पहाड ढुङ्गा, गिट्टी, माटोले बनेको तथा वन जङ्गलले ढाकेको निर्जीव क्षेत्र लाग्दछ तर चुरे र तराईमा बासोबास गर्ने बासिन्दाका लागि चुरे आमा हो । यस वर्षको वैशाख र जेठमा ४२ डिग्री तापक्रम हुँदा जनकपुर, जलेश्वरलगायत चुरे, भावर र तराईमा चापाकलको पानी सुकेको समाचार विभिन्न मिडियाहरुमा सम्प्रेषण भएका छन् ।    
    
 हाल सञ्चालनमा रहेको क्रसर व्यवसायीको जथाभावी गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन गरिरहेका छन् । अहिले पालिकाहरुले ढुङ्गा, गिट्टी, बालुवा निकाल्नलाई ठेक्का त दिन्छन् तर अनुगमन गर्दैनन् । ठेकेदार र क्रसर उद्योगीहरुले मापदण्डको पालना नगरी जथाभावी उत्खनन गर्दा वातावरणीय समस्या उत्पन्न भएको छ । केही पैसाको लोभमा गिट्टी, ढुङ्गा, बालुवा देशबाहिर निकासी दिने हो भने निकै जटिल अवस्था आउने निश्चित छ । चुरे, मध्यपहाड र हिमालबाट निस्कने खोलाहरु तराईमा आउँदा पैसाको लोभमा बालुवा, गिट्टीको अव्यवस्थित व्यापक दोहन गर्ने गरिएको छ । खोलामा ३० फिटभन्दा पनि गहिरो खाडल खनेर बालुवा, गिट्टीको उत्खनन गरिएको छ । यसले हजारौँ वर्षदेखि बगिरहेको जमिनमुनिको पानीको बहावलाई खल्बल्याइदिएको छ । यसबाट भावर र तराई क्षेत्रमा इनार र चापाकलमा खानेपानीको समस्या ल्याएको छ ।    
    
 केही क्रसर उद्योगी र व्यापारीको मात्र हित हुने गरी ६१ प्रतिशत जनताको अहित हुने यति महत्वपूर्ण पानीको जलाधार क्षेत्र चुरेलाई दोहन हुने गरी गिट्टी ढुङ्गा, बालुवा देशबाहिर निकासी गर्न पटकपटक प्रयासहरु भइरहेका छन् । आव २०७८÷८९ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पनि गिट्टी ढुङ्गा, बालुवा देशबाहिर निकासी गर्न ल्याउनुभएको प्रस्तावलाई वर्तमान सत्ता साझेदार दलका नेताहरुले नै गिट्टी ढुङ्गा, बालुवा देशबाहिर निकासी गर्नु घर डढाएर खरानी बेच्नुसरह हुने भन्दै विरोध जनाउनु भएको थियो । आज उहाँहरुकै नेतृत्वको सरकारले आव २०८०÷८१ सालको नीति कार्यक्रमको बुँदा नं ४२ र बजेट वक्तव्यको बुँदा नं १५७ मा उल्लेख गरिएको छ । यसमा सर्वोच्च अदालतले गिट्टी, ढुङ्गा, बालुवा निकासीे अन्तरपुस्ताको सम्पत्ति भएकाले संसद्बाट ऐन बनाएर मात्र निकासी गर्ने भन्ने आदेश छ । भूटान र अस्ट्रेलियाले गिट्टी ढुङ्गा निकासी गरेको तर्क नेपालको सन्दर्भमा मेल खाँदैन । पाकिस्तानका इन्दुस नदीदेखि भारतको व्रह्मपुत्र नदीसम्मको शिवालिक भनिने पहाडमा ढुङ्गा उत्खनन त के पात त टिप्नसमेत दिइँदैन ।    
    
 चुरेबाट बगेर आएको ढुङ्गा, गिट्टी, बालुवालाई हामीले आफ्नो देशको विकास निर्माणको काममा लगाउन सकिन्छ । वातावरणीय ऐन नियम, मापदण्डको पालना गरेर ढुङ्गा, गिट्टी, बालुवा निकाल्दा पालिकाहरुका लागि यो आम्दानीको स्रोत पनि हो । यहाँको ढुङ्गा, गिट्टी, बालुवा बाहिर निकासी गर्नुको विकल्पका रुपमा चुरे क्षेत्रमा सघन रुपमा बाँस, अम्रिसो, बेल, हर्रो, बर्रो, अमला, तेजपात तथा अन्य जडीबुटीको, व्यावसायिक खेती, वन्यजन्तु तथा चराचुरुङ्गीको पालन गरी स्थानीयवासीलाई रोजगार सिर्जना गर्न सकिन्छ । चुरे क्षेत्रमा वर्षाको पानी जम्मा गरी प्रशस्त तालतलैया बनाई माछापालन, सिँचाइ, पर्यापर्यटनको माध्यमबाट आम्दानीको स्रोत बढाउन सकिने सम्भावना छ । चुरे संरक्षण ऐन बनाएर चुरे संरक्षणको संस्थागत व्यवस्था गर्नु अहिलेको मुख्य आवश्यकता हो । (लेखक चुरे विज्ञ हुनहुन्छ)    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend