Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन 


सूचना कुण्ड
 सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन 

सूचनाकुण्ड समाचारदाता 
किमाथाङ्का, असार ३ : सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।    
    
बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ ।    
    
घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ जानुभएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।    
  

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान   
      
पाँचथर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।    
    
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।    
    
यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।    
    
बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।    
    
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।    
    
बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।    
    
वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।    
    
 सडक सम्पर्कविच्छेद    
    
भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।    
    
गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।    
    
यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend