Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

 रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश 


सूचना कुण्ड
 रित्तिएका बस्ती भरिने लाँकुरीबोटवासीको आश 

सूचनाकुण्ड समाचारदाता    
गण्डकी, असार १ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित पुरानो गुरुङ गाउँ लाँकुरीबोटबाट हिमाल, पहाडका सुन्दर दृश्य देख्न सकिन्छ । पछिल्लो समय गाउँका युवा रोजगार र सुविधाको खोजीमा सहर पस्न थालेपछि गाउँ पूरै खाली हुन थालेका यहाँका स्थानीय बताउँछन् ।     
    
 बस्ती खाली बन्दै जाँदा यहाँको संस्कार तथा संस्कृति पनि हराउने चिन्ता थपिएको बुढापाका बताउँछन् । सुनसान बस्तीकै कारण विगतमा जङ्गलतिरै रमाउने बाँदर अहिले घरदैलोमा आएर सताउने गरेका स्थानीयको दुःखेसो छ । गाउँ सुन्दर भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके सहर पसेका युवा फेरी गाउँ फर्किने स्थानीयको आशा छ ।    
    
 यस गाउँमा विसं २०५० सालअघिसम्म झण्डै ५०/६० घरपरिवार बस्थे । स्वच्छ हावापानीसहित हिमाल, पहाड देखिने यस सुन्दर गाउँमा अहिले मुस्किलले १५/१६ घर छन् । “सुविधाका नाममा गाउँ छाडेर सहर पस्ने रोगले यस गाउँलाई पनि छोएको छ । अहिले गाउँ पूरै सुनसान छ”, स्थानीय ७६ वर्षीय गजबहादुर गुरुङले भन्नुभयो । “पचपन्न, छपन्न सालसम्म पनि गाउँमा २५/३० घर थिए र मानिसहरु पनि बस्थे”, उहाँले भन्नुभयो, “अहिले १५/१६ घर मात्र छन् । तिनमा पनि धेरैजसो वृद्धवृद्धा बस्छन्, युवा छैनन् ।”    
    
 लाँकुरीबोट तीन सय वर्ष पुरानो गुरुङ बस्ती रहेको बताउँदै यहाँका पुर्खा क्होलासोँथरबाट आएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार क्होलासोँथरबाट खिलाङ, पर्वत भोक्सिङ देउराली, स्याङ्जा लामादी हुँदै पुर्खा यस ठाउँमा आएर बसोबास गरेको इतिहास छ ।    
    
 लाँकुरीबोट गाउँको सिरानमा रमाइलो थुम्को छ । स्थानीयले यसलाई थुम्कोडाँडा भन्दै आएका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस डाँडाबाट अन्नपूर्ण, धवलागिरिलगायत शृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ । हिमाली दृश्यका साथै बरसाम्मी, बर डाँडागाउँ, बरमाझथरलगायत पहाडी भूभाग पनि यहाँबाट देखिन्छ । थुम्कोडाँडालाई यहाँका स्थानीयले धार्मिकरुपमा पनि उत्तिकै महत्वपूर्ण मान्दछन् । यहाँ रहेको ज्वालादेवीको मन्दिरमा साक्षात् शक्ति रहेको विश्वास गरिन्छ ।    
    
 स्थानीयले ज्वालादेवीको संरक्षणलाई जोड दिँदै आए पनि अहिले लेफ्टिनेन्ट ओमप्रकाश गुरुङ(एमविइ)को सहयोगमा व्यवस्थित मन्दिर निर्माण गर्न थालिएको छ । कूल रू ११ लाख ५६ हजार दुई सय लागतमा मन्दिर निर्माण हुन लागेको हो ।    
    
 मन्दिर निर्माणको क्रममा केही दिनअघि सिन्धुलीका कमरलाल धामीले यहाँस्थित शिलामा चरचर आवाजसँगै बिजुली चम्किएको प्रत्यक्ष देखेको अनुभव सुनाउनुभयो । “शिलामा आएको आवाजसँगै बिजुली चम्किएको देख्दा सुरुमा त डर लागेको थियो”, उहाँले भन्नुभयो ।    
    
 थुम्कोडाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधारका काम भइरहेको तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङले जानकारी दिनुभयो । “हामी यस क्षेत्रको पर्यटकीय विकासका माध्यमबाट गाउँ छोड्नेलाई पनि फर्काउने अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो । स्थानीयको सक्रियतामा थुम्कोडाँडामा तमु हिलपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । हिलपार्कका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको गुरुङले जानकारी दिनुभयो ।    
    
 उहाँका अनुसार डिपिआरमा गुरुङ संस्कृति सङ्ग्रहालय, बुद्ध प्रतिमा निर्माण, गोर्खा राइफल स्मृति पार्कलगायतका विविध संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । “हाल शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रू २० लाखको लागतमा क्वोँइबो निर्माण भइरहेको छ । थुम्कोडाँडामा जानका लागि प्रदेश सरकारको सहयोगमा रू १० लाखको लागतमा प्रवेशद्वार निर्माण भइरहेको छ”, गुरुङले भन्नुभयो ।    
    
 तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) यहीँ भएर जाने भएकाले यसलाई पदयात्रा पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महसचिव हर्क गुरुङले बताउनुभयो ।    
    
 “पदमार्गमा पर्ने ऐतिहासिक महत्वका गाउँलाई हामीले मिलेनियम ट्रेकको नक्सामा समावेश गरेका छौँ”, उहाँले भन्नुभयो, “निर्माणाधीन तमु हिल पार्कलगायत पूर्वाधारले यहाँ पर्यटको आकर्षण बढाउन सक्ने देखिन्छ ।” राम्रो पर्यटकीय विकास भएमा गाउँ छोडेर सहर पसेका पुनःगाउँमा नै फर्कने वातावरण तयार हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।    
    
 पछिल्ला समयमा रमणीय बस्ती सुविधाको खोजीमा उजाडिँदै जानु चुनौतीका रुपमा देखिएको सह प्रा डा रामजीप्रसाद पोखरेलले बताउनुभयो । गाउँ छोडेर गएकालाई फर्काउनुका साथै अन्य स्थानका मानिसलाई बस्तीमा आउने गरी आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend