काठमाडौँ, असोज २२ : देशको सङ्घीय राजधानी काठमाडौँको सुन्धारामा अवस्थित धरहरा बहुआयामिक एवम् सम्भावना बोकेको पर्यटकीय केन्द्र हो । धरहरामा दैनिक १२ देखि १५ सयको हाराहारीमा पर्यटकको आगमन हुने गरेको छ । चाडपर्व तथा सार्वजनिक बिदाका दिन यो सङ्ख्या २ हजार पाँचसय देखि २ हजार आठसय सम्म पुग्ने गर्दछ ।
सहरी विकास तथा भवन निर्माण विभागका शाखा अधिकृत एवम् धरहराको अन्तरिम सञ्चालक व्यवस्थापन कार्यालय प्रमुख महेश राईले धरहरा सम्भावना नै सम्भावनाको केन्द्र भएको भन्नुहुँदै यसलाई थप व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सके मनग्य आम्दानीको स्रोत बन्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अर्गनाइज्ड तरिकाले चलाउन सकियो भने यहाँबाट मनग्य आम्दानी गर्न सक्ने, आन्तरिक र विदेशी पर्यटक थप आकर्षित गर्न सकिन्छ । धरहराको पर्यटकीय क्षेत्रसँग कनेक्टिभिटी बढाएर राज्यको आयस्रोतलाई अझ धेरै बढवा दिँदै रोजगारी पनिसिर्जना गर्न सक्ने सम्भावना छ ।”
धरहरामा धरहरा अवलोकनसहित खुला ठाउँमा विश्राम गर्ने, योगा गर्ने, विभिन्न कार्यक्रम गर्ने, फिल्म सुटिङ गर्ने, फोटोग्राफी लगायतका सेवा सञ्चालनमा आइरहेका छन् । नयाँ प्रविधिलाई जोड्दै विशेषगरी बालबालिका र वृद्धवृद्धाका लागि अन्इ सेवा, सुविधा जोड्न सकिने उहाँ बताउनुहुन्छ ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त धरहरा पुननिर्माण पश्चात् २०८१ मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि औपचारिक रुपमा खुला गरिएको हो ।
उहाँले आर्थिक वर्ष २०८१-८२ मा धरहराबाट करिब पाँच करोड दश लाख राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८२-८३ मा दश करोड ८५ लाख राजस्व सङ्कलन भएको थियो । यद्यपि, धरहरा सञ्चालन एवम् व्यवस्थापनमा नीतिगत प्रष्टता नहुँदा आगामी योजना निर्माण लगायतका विषयमा चुनौती देखा परेका छन् ।
उहाँले भन्नुभयो, “केही क्षेत्र पर्यटन मन्त्रालयअन्तर्गत, क्षेत्र पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने, केही चाहिँ अब महानगर र स्थानीय सरकाकरो पनि पर्न सक्ने । यी तीन निकायबिच समन्वयको आवश्यकता देखिन्छ ।”
