काठमाडौँ , असोज ११ : केही दिनयता परेको अविरल वर्षाका कारण मुख्य राजमार्गका विभिन्न खण्डमा बाढीपहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ । संघीय राजधानी जोड्ने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोको जोखिम कायमै छ । यस खण्डमा पहिरो खसेपछि सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सडक विभागका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङमा पहिरो खसिरहँदा पन्छाउन समस्या भएको छ । यस खण्डमा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको छ ।
कृष्णभीरमा रोकिएर अलपत्र परेका सवारीलाई शनिबार पहिरो पन्छाएर गन्तव्यतर्फ पठाइएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो । “नयाँ ट्र्याक खोलेको खण्डभन्दा माथिबाट लेदो माटो बगेर आइरहेको छ, पहिरो झर्ने जोखिम कायमै छ,’ उहाँले भन्नुभयो, , “शनिबार केही समय पानी रोकिएपछि राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई पठाइएको हो, राजमार्ग खुला गरिएको होइन ।’ पानी पर्न नरोकिँदासम्म सवारीसाधन खोल्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
गत १४ भदौमा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पहिरो गएर कृष्णभीरमा यातायात अवरुद्ध भएको थियो । पहिरो गएको ठाउँभन्दा केहीमाथि ट्र्याक खोलेर १८ दिनपछि यातायात सञ्चालन गरिएको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत नै मलेखु–मुग्लिन खण्डकै धारापानीमा सडक भासिएको छ । ‘त्यहाँ ७० मिटर दूरीमा दुई ठाउँमा २०–२० मिटर सडक भासिएको छ,’ योजना प्रमुख अधिकारीले भन्नुभयो , ‘तलबाट त्रिशूली नदीले कटान गरेको छ, यस ठाउँमा पानी परिरहेकाले तत्काल सडक बनाउन सक्ने अवस्था छैन ।’
बीपी राजमार्गमा पनि शुक्रबारबाट सवारी आवागमनमा रोक लगाइएको छ । राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे, चौकीडाँडा खण्डको अस्थायी डाइभर्सन बाढीले बगाएको छ । शनिबार चौकीडाँडा, कटुन्जेमा पहिरो पन्छाइएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । गिम्बिबेंसीमा ठूलो पहिरो खसेकाले सफा गर्न समय लागेको उहाँको भनाइ छ । ‘जाइकाले बनाइरहेको पिप्ले–बर्खेखोला खण्डका तीन ठाउँको अस्थायी डाइभर्सन बाढीले बगाएको छ,’ उनले भने, ‘त्यहाँ आइतबार साँझसम्म पानी परेन भने सडक खुलाउने गरी काम गरिरहेका छौं ।’
यता काठमाडौंबाट बाहिरिन/भित्रिन पृथ्वी राजमार्गको विकल्पमा प्रयोग गरिने कान्ति राजमार्गमा पनि पहिरोले समस्या थपिरहेको छ । शनिबार पहिरो पन्छाएर कान्ति राजमार्गमा तरकारी बोकेका, एम्बुलेन्स लगायतका सवारीसाधन खुला गरिएको कान्ति राजमार्ग सडक योजना कार्यालयका इन्जिनियर राजन पाण्डेले बताउनुभयो ।
‘पहिरोको जोखिम कायमै रहे पनि यो खण्ड भएर सवारीसाधन ओहोरदोहोर गरिरहेका छन्,’ उनले भने, ‘केही दिन पानी पर्ने भनिएअनुसार जोखिम रहेका क्षेत्र आसपास पहिरो पन्छाउन मेसिन तैनाथ राखिएको छ ।’ नजिकिएको दसैंमा सहज रूपमा सवारी चलाउन मिल्ने गरी यस मार्गमा काम गरिने उहाँले बताउनुभयो । ।
नागढुंगा ओरालोमा १७ भदौमा भासिएको सडक अझै बनिसकेको छैन । त्यहाँ एकतर्फी आवागमन खुलाइएको छ । ग्यास बुलेट, पेट्रोलिमय पदार्थ बोकेका र मोटरसाइकललाई मात्र उक्त खण्ड खुला गरिएको छ । यो मार्ग भएर गुड्ने अन्य सवारीका लागि भने नागढुंगा सुरुङमार्ग चोबिसै घण्टा खोलिएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पनि विभिन्न खण्डमा पहिरोले सवारी आवागमन प्रभावित बनेको छ । ठाउँठाउँमा समस्या आए पनि पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्दै आएको राजमार्ग आयोजना निर्देशनालयका सूचना अधिकारी सचिन श्रेष्ठले बताउनुभयो । यस्तै, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग र भालुबाङ–चकचके–लिबाङ सडक खण्डका पनि विभिन्न स्थानमा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको सडक विभागले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । विभिन्न खण्डमा नयाँ–नयाँ पहिरो आइरहने गरको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताउनुभयो ।
