Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

९ देखि ११ सम्म लामो दूरीको सडक यात्रा नगरौँ, हिमाली क्षेत्रको पदयात्रा रोकौँ : मौसम विभाग


सूचना कुण्ड
९ देखि ११ सम्म लामो दूरीको सडक यात्रा नगरौँ, हिमाली क्षेत्रको पदयात्रा रोकौँ : मौसम विभाग

काठमाडौँ, असोज ७ :   भारी वर्षाका साथै भारी हिमपातको जोखिम रहेको जनाउँदै  मौसम पूर्वानुमान महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न तथा जाने तयारी गरेकाहरूलाई हालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ ।

त्यस्तै, महाशाखाका मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी/पहिरोको जोखिम हुने जनाउँदै  लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् । महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपास रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भई पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिन्छ । यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै गएको छ ।

“पानी त देशैभरि पर्छ र सबै प्रदेशमा भारी वर्षाको सम्भावना पनि छ,” महाशाखाका मौसमविद् हरिप्रसाद ढकालले भन्नुभयो, “अति भारी वर्षा र अति भारी हिमपातको सम्भावना गण्डकी र लुम्बिनी प्रदेशमा छ, त्यसैले सतर्कता अपनाऔँ ।

गण्डकी प्रदेशको हिमाली क्षेत्र पदयात्राका लागि प्रख्यात छ । यहाँ बाह्रै महिना विदेशी तथा स्वदेशी पर्यटक, गाइड र भरियाहरू पुग्ने गर्छन् । प्रसिद्ध अन्नपूर्ण, मनास्लु सर्किट, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल र तिलिचो ताल लगायतका गन्तव्य यही क्षेत्रमा पर्छन् ।

विभागले सर्वसाधारण र सरोकारवालाका लागि सम्भावित मौसमी विपत्तिबारे विशेष बुलेटिन पनि जारी गरेको छ । साथै हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरेको छ, जसको अर्थ पूर्वतयारी गर्नु भन्ने हो ।

बुलेटिनअनुसार आगामी शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । साथै बंगालको खाडीमा विकसित हुँदै गरेको छुट्टै मौसमी प्रणालीको समेत प्रभाव देखिएको छ । मौसमविद् ढकालका अनुसार बंगालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र बुधबार राति वा बिहीबार बिहान जमिनमा प्रवेश गर्ने र त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

 “हिमाली भेगमा पदयात्रामा ननिस्किनुहोस्,” उहाँले भन्नुभयो, “९ गतेदेखि ११ गतेसम्म लामो दूरीको यात्रा पनि नगर्नुहोस् । मौसम विभागको बुलेटिन हेर्नुहोस् । थप जानकारी आवश्यक परे टोल–फ्री नम्बर ११५५ मा फोन गर्नुहोस् र १ थिचेर मौसमसम्बन्धी जानकारी लिनुहोस् ।”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend