काठमाडौँ भदौ३१ : असोजका लागि वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर घटेको छ । यही भदौमा ४.१३ प्रतिशत रहेको वाणिज्य बैंकहरुमा निक्षेपको औसत ब्याजदर ४.०८ प्रतिशत कायम भएको छ । बैंकहरुले हरेक महिनाको अन्तिम दिन आउँदो महिनाका लागि ब्याजदरको सूची प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार बैंकहरुले आज ब्याजदर प्रकाशित गरेका छन् । जसमा १६ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् । ४ वटा बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा कुमारी, नबिल, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिइरहेकोभन्दा एक प्रतिशत बिन्दुले बढी ब्याज रेमिट्यान्स निक्षेपमा दिन पाउने सुविधा राष्ट्र बैंकले यसअघि नै दिएको छ ।
नयाँ दरअनुसार असोजमा निक्षेपकर्ताले वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर अधिकतम ४.५५ प्रतिशत ब्याज पाउनेछन् । सबैभन्दा धेरै ब्याज दिने बैंकमा प्रभु बैंक अघि छ । कुमारी बैंकले निक्षेपमा सबैभन्दा कम ३.७३ प्रतिशत मात्रै ब्याजदर अफर गरेको छ ।
पछिल्लो तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलता (ऋण दिन मिल्ने) रकम थुप्रिएर बसेको छ । तरलता व्यवस्थापन लागि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा झिक्दै आएको छ । यद्यपि अहिले पनि बैंक तथा वित्तीय संस्थामा १५ खर्बभन्दा बढी ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।
