काठमाडौं, भदौ २६ : चाडपर्व नजिकिँदै गर्दा बजारमा चिनीको माग ह्वात्तै बढेको छ । सरकारले बजारमा सहजरुपमा चिनी उपलब्ध भएको बताइरहेका बेला उपभोक्ताहरुले भने चिनी नपाएको गुनासो गरेका छन् ।
देशको विभिन्न बजारमा चिनीको मूल्य र उपलब्धतामा फरक अवस्था देखिएको छ । सरकारी निकायले चिनीको मौज्दात रहेको र नियमित रूपमा बिक्री भइरहेको बताएको छ । निजी बजारका केही व्यापारीले चिनीको स्टक सकिएको र ग्राहकलाई रित्तै फर्काउनुपरेको बताएका छन् ।
उपभोक्ताले पनि विभिन्न स्थानमा चिनी खोज्दा सहज रूपमा नपाएको तथा कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपरेको गुनासो गरेका छन् । यसले अहिलेको मुख्य प्रश्न चिनीको वास्तविक अभाव होकि उपलब्ध चिनीको आपूर्ति तथा वितरणमा समस्या हो ? प्रश्न खडा गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार कर्पोरेसनले विभिन्न शाखाबाट दैनिक रूपमा चिनी बिक्री गरिरहेको छ । उपभोक्तालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराइरहेको बताउँदै उहाँले तत्काल चिनीको अभाव हुने अवस्था नरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार “कर्पोरेसनसँग हाल चिनीको मौज्दात केही दिनसम्म पुग्ने रहेको छ । हामीले ग्राहकलाई चिनी सुपथ मूल्यमा दिइरहेका छौँ । हामीसँग अहिले पनि चिनी छ र वीरगञ्जबाट थप चिनी आउँदैछ” राजभण्डारीले भन्नुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा रहेको बताउनुभयो । कम्पनीसँग हाल करिब एक सातालाई पुग्ने चिनीको मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।
चाडपर्वका बेला चिनी अभाव हुनसक्ने आशंकामा उपभोक्ताले अहिले नै आवश्यकताभन्दा बढी चिनी खरिद गरी सञ्चय नगर्न मिश्रले आग्रह गर्नुभयो । “अहिले चाडपर्व लक्षित सुपथ मूल्य पसल पनि सञ्चालनमा छ । करिब एक सातालाई धान्ने चिनीको मौज्दात छ । पछि सकिन्छ कि भनेर अहिले नै हतार गरेर चिनी किनेर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका छौँ” मिश्रले भन्नुभयो ।
बजारमा अवस्था समान छैन
सरकारी निकायले चिनीको उपलब्धता सहज रहेको बताए पनि निजी बजारमा भने अवस्था समान छैन । हाँडिगाउँ शुभम होलसेल पसलका सञ्चालक सुदिप अधिकारीका अनुसार उहाँको पसलमा अहिले चिनीको मौज्दात छ । बिक्रीसमेत भइरहेको छ ।
“बाढीपहिरोका कारण केही समय आपूर्तिमा समस्या भएको थियो । अहिले पसलमा चिनी छ । बिक्री भइरहेको छ । करिब चार–पाँच दिनलाई पुग्ने मौज्दात छ” अधिकारीले भन्नुभयो ।
तर सबै थोक व्यापारीको अवस्था उस्तै भने छैन । न्यूरोड आरएस स्टोरकी थोक व्यापारी अनिमा श्रेष्ठका अनुसार उहाँको पसलमा अहिले चिनीको स्टक छैन । चिनी खरिद गर्न आउने ग्राहकलाई समेत रित्तै फर्काउनुपरेको उहाँको गुनासो छ ।
यसरी एउटै बजार क्षेत्रमा कुनै पसलमा चिनी बिक्री भइरहनु र अर्को पसलमा स्टक नहुनुले बजारमा चिनीको उपलब्धता मात्र होइन, त्यसको वितरणको अवस्था पनि प्रश्नको विषय बनेको छ ।
काठमाडौं बाहिर असमान मूल्य
चिनीको समस्या काठमाडौंमा मात्र सीमित देखिँदैन । पछिल्लो दिनमा विराटनगर लगायतका बजारमा पनि चिनीको मूल्य उच्च रहेको छ । विराटनगरमा चिनीको मूल्य प्रतिकिलो करिब १२० रुपियाँ पुगेकोे छ । सीमावर्ती भारतीय बजार जोगबनीमा भने सोही समयमा चिनीको मूल्य करिब नेपाली ९० रुपियाँ छ ।
यसैगरी, भदौ २४ गते प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चिनीको मूल्य प्रतिकिलो १३० रुपियाँसम्म पुगेको विषय उठेको थियो । समितिका सभापति रहबर अन्सारीले पर्याप्त मौज्दात रहेको भनिए पनि केही महिनामै मूल्य बढ्नुको कारण खोजिनुपर्ने बताउनुभयो ।
यसले चिनीको समस्या काठमाडौंको खुद्रा बजारमा मात्र नभइ देशको अन्य बजारमा पनि मूल्य, आपूर्ति र वितरणसँग जोडिएको विषय भएको देखाउँछ । पोखरामा चिनीको मूल्य पनि समान छैन । पोखरामा चिनीको मूल्य १५० रुपियाँ छ । काठमाडौंमा १६५ रुपियाँसम्म विक्री भइरहेको उपभोक्ताको भनाइ छ ।
आठ महिनाको मौज्दात
चिनीको अहिलेको अवस्था अझ चासोको विषय बन्नुको अर्को कारण सरकारको केही महिनाअघिको तथ्याङ्क हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८३ जेठ १ गते जारी गरेको विज्ञप्तिमा नेपालको चिनी उद्योगबाट उत्पादन भइ मौज्दातमा रहेको देखाउँछ ।
आयात भइसकेको चिनी गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन लगायतसँग करिब आठ महिनाको माग पूरा गर्ने मौज्दात रहेको जनाएको थियो । मन्त्रालयले त्यतिबेला चिनीको कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन बजार अनुगमन र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने जनाएको थियो ।
उपभोक्तालाई अनावश्यक रूपमा चिनी सञ्चय नगर्न मन्त्रालयले आग्रह गरेको थियो । त्यसको केही महिनापछि चाडपर्वको मुखमा बजारमा चिनीको मूल्य बढेको र केही स्थानमा उपलब्धतासमेत सहज नभएको गुनासो छ । अहिलेको मौज्दातको वास्तविक अवस्था, मौज्दात कुन–कुन निकाय तथा व्यवसायीसँग छ र बजारका विभिन्न तहमा त्यसको वितरण कसरी भइरहेको छ भन्ने विषय महत्वपूर्ण छ ।
भदौ २४ गते प्रकाशित एक रिपोर्टअनुसार सडक अवरोधका कारण साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई बिक्री गर्ने चिनीको परिमाण घटाएको उल्लेख छ ।
बाटो खुल्ने अपेक्षा
पछिल्ला रिपोर्टअनुसार साल्ट ट्रेडिङले भारतबाट २५ हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया अघि बढाएको जनाएको छ । भारतले उपलब्ध गराउने कोटामध्येबाट उक्त चिनी आयात गर्न लागिएको र वीरगञ्जसम्म आइपुगेपछि बजार मूल्यमा केही राहत पुग्न सक्ने साल्ट टे«निङका सूचना अधिकारी राजभण्डारीले बताउनुभयो ।
उपभोक्तालाई सञ्चय नगर्न आग्रह
सरकारी निकायहरुले चिनीको मौज्दात रहेको र थप आपूर्ति हुने बताउँदै उपभोक्तालाई अनावश्यक रूपमा ठुलो परिमाणमा चिनी खरिद गरी सञ्चय नगर्न आग्रह गरेका छन् । चाडपर्वको समयमा माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन थोक तथा खुद्रा तहमा नियमित अनुगमन गर्न उपभोक्ताको सुझाव छ ।
