Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सहुलियतको चिनी ल्याउन प्रक्रिया सुरु


सूचना कुण्ड
सहुलियतको चिनी ल्याउन प्रक्रिया सुरु

काठमाडौँ, भदौ १९:  सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई विशेष भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नजिकिँदै गरेको चाडपर्वलक्षित उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउनका लागि २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार छुटको आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

हाल नेपाली बजारमा चिनीको अभाव देखिएको र चिनीमा कालोबजारी नै हुन थालेपछि बजारको भाउ नियन्त्रण गर्नका लागि कर्पोरेसन र खाद्य कम्पनीमार्फत चिनी ल्याउन थालेको जनाएको छ । बैठकपछि सरकारले चाडपर्वको समयमा उपभोक्तालाई राहत प्रदान गर्ने गरी यस प्रकारको कदम चालेको जनाइएको छ । 

कर्पोरेसनका उपमहानिर्देशक एवं सूचना अधिकारी कुमार राजभण्डारीले भन्सार छुटमा चिनी खरिद गर्ने विषयमा सरकारबाट यसअघि नै सङ्केत पाइसकेकाले भारतबाट चिनी ल्याउनका लागि एलसी खोलेर प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । यही प्रक्रिया अगाडि बढेमा दसैँअगाडि नै सबै नेपाल चिनी आइपुग्ने उहाँको भनाइ छ । बिहीबारको निर्णयमा कर्पोरेसन र खाद्य कम्पनीका लागि के कति भन्ने स्पष्ट जानकारी भने आइसकेको छैन । 

उहाँका अनुसार कर्पोरेसनको आफ्नै पहलमा ल्याउन लागेको दुई हजार पाँच सय मेट्रिक टन चिनी अबको एक साताभित्र वीरगन्ज भन्सारमा आइपुग्छ । आन्तरिक उद्योगबाट खरिद गर्ने १२ हजार मेट्रिक टन आउने क्रममा रहेकाले बजारमा अब चिनीको अभाव नहुने सूचना अधिकारी राजभण्डारीले बताउनुभयो । 

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालै भारतबाट दुई हजार पाँच सय क्विन्टल चिनी ल्याएर बिक्री गर्न थालेको जनाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत शर्मिला सुवेदीले आन्तरिक उद्योगबाट थप २५ हजार क्विन्टल खरिदको प्रक्रिया सुरु भइसकेकाले तत्काल चिनीको अभाव नहुने जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले बिहीबार गरेको निर्णय अनुरूप चिनी खरिद गर्न कम्पनी तयार रहेको छ । कम्पनीको नाममा के कति परिणाममा चिनी खरिदका लागि स्वीकृति हुन्छ त्यो अनुसार तत्काल प्रक्रिया सुरु गर्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend