धादिङ भदौ १३ : त्रिशूली नदीको बाढीले मलेखुको पुल बगाएपछि पृथ्वी राजमार्गबाट सडक सम्पर्क विच्छेद भएको धादिङबेसी सदरमुकाम वैकल्पिक मार्गहरूबाट जोडिन थालेको छ।
त्रिशूली नदीको धादिङ खण्डमा रहेका पुलहरूमध्ये सकुशल रहेका दुईवटा पक्की पुलसम्म सडक सञ्जाल जोडेर सदरमुकामसँग सडक सम्पर्क गराइएको हो।
धादिङबेसी–सुनौलाबजार–फोस्रेटार सडक
वैकल्पिक सडकको रूपमा धादिङबेसी–सुनौलाबजार–फोस्रेटार–कल्लेरीटार हुँदै गल्छी निस्कने सडक हो। चार पाङ्ग्रे हलुका सवारीसाधन (होचा साना कार–जीप बाहेक) र मोटरसाइकलका लागि उपयुक्त यो सडक करिब ४० किलोमिटरमध्ये १५ किलोमिटर पक्की र २५ किलोमिटर कच्ची रहेको छ।
यो सडकखण्डमा पनि साना देखि ठूलासम्मका सार्वजनिक यातायात चलाउन मिल्ने गरी मर्मतसुधारको काम भइरहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ। राजधानीसँग जोड्ने सबैभन्दा छोटो दूरीमा रहेको सडक पनि यही हो।
वैकल्पिक सडकहरूबाट राजमार्गमा सडक सम्पर्क जोडिए पनि सार्वजनिक यातायात भने नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। रिजर्भ गरिएका साना तथा मझौला गाडी र अत्यावश्यक सेवाका एम्बुलेन्सहरू यही बाटो भएर गुडिरहेका छन्।
मुग्लिन–आँबुखैरेनी–गोरखा–आरुघाट–धादिङबेसी सडक
धादिङ सदरमुकाममा उपभोग्य सामग्रीको आपूर्तिका लागि यो सडक उपयुक्त देखिएको छ। अधिकांश उपभोग्य सामग्री तराई क्षेत्रबाट धादिङ भित्रिने भएकाले मुग्लिनबाट आँबुखैरेनी हुँदै गोरखा–आरुघाट–सल्यानटार भएर धादिङबेसी आउनका लागि यो सडक तयार भएको हो।
दूरीका हिसाबले केही लामो भई ढुवानी खर्च बढे पनि खाद्यान्न र इन्धन आपूर्तिका लागि यो सडक प्रयोगमा छ।
धादिङको सल्यानटारदेखि आरुघाट क्षेत्रसम्मको ५ किलोमिटर कच्चीबाहेक यो वैकल्पिक सडकमा अरू सबै भाग पक्की रहेको छ। उक्त कच्ची क्षेत्रमा त्रिपुरासुन्दरी गाउँपालिकाले मर्मत गरी आवागमन सहज बनाएको छ।
यही मार्गबाट धादिङबेसी सदरमुकाममा बाढीको कहरपछि मात्रै ३ ट्रक पेट्रोल-डिजेल भित्रिएको छ। विशेषगरी तराई क्षेत्रबाट धादिङ आउने खाद्यान्न बोकेका मझौला मालबाहक सवारी र सार्वजनिक यातायात यही बाटो भएर धादिङ भित्रिएका छन्। धादिङका व्यापारीले खाद्यान्न ढुवानीका लागि यो बाटो प्रयोग गर्न थालेका छन्।
सुरुका दिनमा सदरमुकाममा खाद्यान्नलगायतका सामग्री खरिद गर्नेको भीड देखिएर केही समस्या उत्पन्न भए पनि हाललाई खाद्यान्न र इन्धनमा कुनै समस्या नरहेको नीलकण्ठ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।
मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक
मलेखुस्थित फुर्केखोला पुल बाढीले बगाएपछि मासटार–पिपलटार–परेवाटार वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। स्थानीय तहले आफूखुसी खनेको सडकलाई अहिले सिद्धलेक गाउँपालिका र संघीय सरकारको सडक विभागले मर्मत गरी सञ्चालनमा ल्याएको हो।
वर्षातका कारण अवरुद्ध बनेको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक विभागका सुपरभाइजर कुमार थपलियाले जानकारी दिए।
यो सडकमा हालका लागि जीप, भ्यान, हाइस, माइक्रोबस, बोलेरोलगायतका सवारी गुड्न सक्नेछन्। ठूला मालबाहक सवारी र यात्रुवाहक बससमेत सञ्चालन गर्न सकिने गरी मर्मत भइरहेको छ। यही मार्गबाट सदरमुकाममा २ ट्रक बाबा ग्यास भित्रिएपछि उपभोक्ता खुसी देखिएका छन्।
धादिङबेसीबाट पृथ्वी राजमार्ग निस्कनेहरूले परेवाटारबाट पिपलटार, केउरेनी हुँदै मासटार निस्कन सक्नेछन्। पृथ्वी राजमार्ग तरेर धादिङबेसी आउनेहरूले मासटारस्थित त्रिशूली नदीमाथिको पुल तरेर केउरेनी, पिपलटार हुँदै परेवाटार निस्कन सक्नेछन्।
धादिङबाट बाहिर निस्कने र भित्रिने सार्वजनिक यातायातलाई सहज बनाउन यो सडकलाई उपयुक्त सुधार गरी दसैंमा समेत सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।
