Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी


सूचना कुण्ड
हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी

काठमाडौँ, भदौ १० :  नेपाल-चीन रसुवागढी नाकाबाट २० किलोमिटर उत्तरपूर्वपट्टि हिमपहिरो गएका कारण भोटेकोशीमा भीषण बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा प्राधिकरणले यस्तो निष्कर्ष निकालेको हो। उक्त हिमपहिरो गएपछि चिनियाँ सिमानाकै ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको प्राधिकरणले जनाएको छ।

'प्लानेट ल्याबको स्याटलाइट तस्बिर विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रान सहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ,' प्राधिकरणले फेसबुकमार्फत दिएको सूचनामा भनिएको छ।

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी भीषण बाढी आएको थियो। यो बाढी कहाँबाट कसरी सुरू भयो भन्ने यकिन विवरण आएको थिएन।

बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीले प्लानेट ल्याबको डाटा अध्ययन गरेर प्राधिकरणले जारी गरेको सूचना नै अहिलेसम्मको सबभन्दा भरपर्दो सूचना भएको बताएका छन्।

'प्लानेट ल्याबको डेटा अनुसार प्रधिकरणले सूचना जारी गरिसकेको छ। त्यसबाहेक थप सूचना आइसकेको छैन,' उनले सेतोपाटीसँग भने।

यसअघि बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको थियो।

बुधबार बिहान अकस्मात आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नदी आसपासका केही गाउँदेखि जलविद्युत आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ। मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन।

नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ।

'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ,' महाशाखाले साढे १ बजे फेसबुकमा लेखेको थियो।

यसबीच परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा जानकारी दिँदै तिब्बती क्षेत्रमा आएको भूकम्पपछिको हिमपहिरोका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा मन्त्री खनालले ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको उल्लेख गरे।

'प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,' मन्त्री खनालले भने, 'त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।'


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend