काठमाडौँ, साउन २४ : प्रशान्त महासागरमा ‘अलनिनो’ प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्य देखिएको छ । प्रशान्त महासागरमा ‘अलनिनो’ प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ । मनसुन उच्च अवस्थामा रहेको नेपालमा ‘अलनिनो’ को प्रभाव नगन्य रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मनसुनी वर्षाको अवस्था हेर्दा असारदेखि हालसम्म सन्तोषजनक रहेको जानकारी दिनुभयो । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भू–भागनजिक छ । उहाँले भन्नुभयो, “न्यूनचापीय कारण नेपालमा मनसुनी वायु र जलवाष्पको प्रभाव बलियो छ, त्यसैले पनि अझै केही दिन मनसुनी वर्षा सक्रिय रहने देखिएको छ ।”
प्रशान्त महासागरमा बलियो बन्दै गएको ‘अलनिनो’ को प्रभाव यता कम हुनुमा अरेबियन सागर र बङ्गालको खाडीबाट आइरहेको मनसुनी वायु र जलवाष्पको उच्चता कारक रहेको दाहालको अनुमान छ । महाशाखाका अनुसार देशभर साधारणतया बदली र वर्षाको दर राम्रो रहेको छ । सुदूरपश्चिमदेखि पूर्वी नेपालसम्म मनसुन सक्रिय रहेको छ । देशका कतिपय स्थानमा अझै पनि अधिक वर्षाको दर राम्रो रहेको दाहालले अनुमान गर्नुभयो । हिउँदयाम लाग्दै गर्दा ‘अलनिनो’ को असर बढ्न सक्ने सम्भावना कायमै रहेको उहाँले बताउनुभयो ।
युरोप र अमेरिका क्षेत्रमा भने ‘अलनिनो’ को प्रभाव बढी परिरहेको अनुमान विश्व मौसम सङ्गठन र अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरले औँल्याएको छ । आगामी दिनमा ‘अलनिनो’ ले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायमै रहेको विगत केही दिनयता सार्वजनिक तथ्यले देखाएका छन् । अमेरिकाको क्लाइमेट प्रेडिक्सन सेन्टरका अनुसार ‘अलनिनो’ र ‘लानिनो’ दक्षिणतर्फका सामुद्रिक जलवायु प्रणालीका विपरीत चरण हुन् । यस प्रक्रियामा मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको तापक्रममा हुने उतारचढाव र त्यसमाथिको वायुमण्डलमा आउने परिवर्तन समावेश हुने गर्छ ।
मध्य तथा पूर्वी प्रशान्त महासागरमा भूमध्यरेखीय समुद्री सतहको तापक्रम औसतभन्दा माथि रहेको हालको अवस्था छ । सेन्टरले भनेको छ, “सन् २०२६ को अन्त्यसम्म ‘अलनिनो’ अझ बलियो हुँदै जाने छ । सन् २०२७ को वसन्त ऋतुको सुरुवातसम्म यसको प्रभाव कायम रहने ९७ प्रतिशत सम्भावना छ ।”
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार ‘अलनिनो’ बलियो हुँदै गर्दा अबका दिनमा त्यसको प्रभाव विश्वभर देखिने छ । सङ्गठनले हालसालै गरेको पूर्वानुमानमा ‘अलनिनो’ को प्रभाव उच्च हुँदै गइरहेको बताइएको छ । सन् २०२६ को अगस्टदेखि अक्टोबरको अवधिमा यसले विश्वव्यापी जलवायु प्रणालीमा प्रमुख प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यसले विश्वका अधिकांश भू–भागमा आगामी दिनमा तापक्रम सामान्यभन्दा बढी हुने सम्भावना बढाउने र वर्षाको प्रवृत्तिमा उल्लेखनीय परिवर्तन ल्याउने अनुमान गरिएको छ । सङ्गठनको आकलन अनुसार ‘अलनिनो’ सन् २०२६ को अगस्तदेखि अक्टोबरको तीन महिनाको अवधिमा अत्यधिक सशक्त हुने छ ।
