जनकपुरधाम, साउन १४ : जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जनकपुरधाममा बिहीबार बिहानैदेखि प्रदर्शनकारी सक्रिय भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोही दिन दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचना अनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा दिउँसोदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश अनुसार तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन, सभा तथा घेराउ गर्न पाउने छैनन्। प्रशासनले आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
कर्फ्यु आदेश लागू गरिएका क्षेत्रमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन्।
प्रशासनले सर्वसाधारण नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा जिल्लाको शान्ति-सुरक्षा कायम राख्न आवश्यक सहयोग पुर्याउन आग्रहसमेत गरेको छ।
लहान : जिल्लाको पछिल्लो सुरक्षा स्थितिलाई ध्यानमा राखी हुलदङ्गा नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नं. ३ स्थित कसहिया खोलादेखि पश्चिमतर्फ वडा नं. ८ को चोहर्वा चोक, उत्तरतर्फ वडा नं. ४ को क्याम्पस चोक र दक्षिणतर्फ वडा नं. ६ को बस्ती क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ।
बिहीबार साउन १४ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी रहने प्रजिअ पौडेलले जानकारी दिनुभयो। कर्फ्युको बर्खिलाप वा अवज्ञा हुने गरी कुनै गतिविधि गरिएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। साथै, जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्नका लागि सहयोग पुर्याउन स्थानीय प्रशासनले सबै पक्षसँग आग्रहसमेत गरेको छ।
