Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग को उद्घाटन आज


सूचना कुण्ड
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग को उद्घाटन आज

काठमाडौँ, साउन ११  : निर्माण सुरु भएको करिब ८० महिनापछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि सञ्चालनमा आउँदै  छ।

करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।

सवारीको प्रकारअनुसार शुल्क

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने सवारीको प्रकारअनुसार शुल्क लाग्नेछ।

सडक विभागका अनुसार कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ। यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकारअनुसार ६० देखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन, साथै डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

आयोजनाअन्तर्गत २,६८८ मिटर लामो मुख्य सुरुङमार्ग र २.५५ किलोमिटर लामो छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र सिसिटिभी, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा अन्य सुरक्षा प्रणाली जडान गरिएको छ।

यात्राको समय बचत हुने 

सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ। यसमार्फत हालको नागढुङ्गा सडकखण्डमा हुने जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

आयोजना निर्माणका लागि जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ खर्च भएको छ। आयोजनाका अनुसार निर्माणमा करिब १७ अर्ब रुपैयाँ, विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिबाट थप दुई अर्ब रुपैयाँ र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च भएको हो। आयोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्गको निर्माण ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोभिड–१९ महामारी र अन्य प्राविधिक जटिलताका कारण निर्धारित समयभन्दा निकै ढिलो गरी आयोजना सम्पन्न भएको हो।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend