काठमाडौं ,साउन २ :राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको जनाउँदै उच्च सतर्कताका लागि आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले आज शनिबार र भोली आइतबार विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान जारी गरेसँगै प्राधिकरणले सचेत रहन आग्रह गरेको हो ।
भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी कार्य गर्न/गराउन सम्बन्धित सबैलाई भनेको छ । आज र भोलि अत्यन्त जरुरी नभई घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न पनि प्राधिकरणको आग्रह छ ।
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने भएको छ । परिस्थिति अनुसार जुनसुकै बेला सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले प्रस्ट पारेको छ ।
“तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहनेछन्,” प्राधिकरणले भनेको छ, “जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायत साधनहरू तयारी अवस्थामा राखिनेछ ।”
जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले पूर्वसूचना/चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
“अकस्मात बाढी आउनसक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनाराका बस्तीका बासिन्दाहरू बढी चनाखो हुनुपर्नेछ,” प्राधिकरणले भनेको छ ।
