Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सरकारी अस्पतालमा आएका बिरामीलाई निजीमा लैजाने विचौलिया पक्राउ


सूचना कुण्ड
सरकारी अस्पतालमा आएका बिरामीलाई निजीमा लैजाने विचौलिया पक्राउ

धरान, असार २४  :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।

प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने र आर्थिक चलखेल गरी निजी अस्पतालमा पठाउने गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सप्तरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का ३५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षीय सान्बिन किराती र धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी हुनुहुन्छ । यसैगरी उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उमेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धिरोज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता, धरान–११ का १८ वर्षीय विनोद भट्टराई, झापा दमक–१ का ४३ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगर गाउँपालिका–४ का २७ वर्षीय दीपक राम पनि पक्राउ परेका छन् ।

उनीहरूविरुद्ध मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा पक्राउ परेका दीपक रामले बोकेको छालाको पर्सबाट विराटनगरस्थित आर्या न्युरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद भएको छ ।

यस्तै उनीहरूको साथबाट बरामद मोबाइल फोनको प्रारम्भिक परीक्षण गर्दा विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका तस्बिर, बिरामीको नाम, रोग र उमेरसहितका विवरण अन्य व्यक्तिलाई पठाइएको रेकर्ड तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका तस्बिर फेला परेका छन् ।

बरामद सामग्रीले अस्पतालमा सक्रिय बिचौलियाको सम्भावित सञ्जाल, बिरामीको व्यक्तिगत विवरण सङ्कलन तथा निजी अस्पतालसँगको सम्भावित समन्वयबारे थप अनुसन्धान गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उपचारका लागि आउने बिरामी तथा आफन्तलाई कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न र शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ । उपचारका लागि आएका बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पार्ने प्रयास भइरहेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend