Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रिय धान दिवस मनाइयो


सूचना कुण्ड
राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ, असार १६ : आज राष्ट्रिय धान दिवस । सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषण गरी हरेक वर्ष मनाइँदै आएको छ । यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ । 

यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासाथ २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । आधा असार सकिन लाग्दा धान रोपाइँ भने न्यून भएको छ । यस वर्ष पानी नपर्दा धान रोपाइँ कम भएको हो । 

कृषि विभाग अनुसार १२ असारसम्म मुलुकभर ११.३३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो अवधिमा १५.६ प्रतिशत धान रोपाइँ भएको थियो । मुलुकभर धान रोपाइँ हुने १३ लाख ८१ हजार ४८८ हेक्टर क्षेत्रफलमा रहेकोमा यो वर्ष एक लाख ५६ हजार ५८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

१२ असारसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा २२.८ प्रतिशत अर्थात् नौ हजार ८७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा २०.९ प्रतिशत अर्थात् ६२ हजार ६७१ हेक्टर क्षेत्रफलमा र गण्डकी प्रदेशमा १२.७ प्रतिशत अर्थात् ११ हजार ८४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै बागमती प्रदेशमा १२.६ प्रतिशत अर्थात् १४ हजार ४२० हेक्टर क्षेत्रफलमा, सुदूरपश्चिममा ९.३ प्रतिशत अर्थात् १५ हजार आठ सय हेक्टरमा र कोशी प्रदेशमा ८.३ अर्थात् २२ हजार ८१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा पाँच प्रतिशत अर्थात् १९ हजार १५८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । 

विभागका वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी तिलकराज चौलागाईंले पानी नपरेकाले धान रोपाइँ कम भएको जानकारी दिनुभयो । पहाडी क्षेत्रमा धान रोपाइँ छिटो भए पनि तराईमा भने रोपाइँ ढिला हुने गर्छ । 

सैँतिस अर्बको धानचामल आयात

चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा झन्डै ३८ अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख ६२ हजार रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपियाँको धानचामल आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा एक अर्ब १० करोड रुपियाँको कम आयात भएको छ । 

चालु आवको ११ महिनामा १८ अर्ब ५३ करोड ६६ लाख रुपियाँ बराबर चार लाख ६४ हजार १०२ मेट्रिक टन धान आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १५ करोड ७१ लाख रुपियाँ बराबरको पाँच लाख २३ हजार ८३९ मेट्रिक टन धान आयात भएको थियो । यस्तै ११ महिनामा १९ अर्ब ३० करोड २६ लाख १० हजार रुपियाँ बरबरको दुई लाख ४७ हजार ४१८ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको दुई  लाख २९ हजार ४६५ मेट्रिक चामल आयात भएको थियो । 

मुलुकमा वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि हालको उत्पादनका आधारमा करिब १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । माग अनुसार उत्पादन नहुनु, उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा धानचामलको आयात बढ्दै गएको तथ्याङ्कले देखाएको छ । भारत, चीन, सिङ्गापुर, इन्डोनेसिया, साउदी अरब, थाइल्यान्ड, भियतनामलगायतका देशबाट धानचामल आयात हुने गर्छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend