काठमाडौँ, असार १३ :शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरी सकेको छ भने इङ्गल्यान्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ । यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन् ।
यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा समूह चरणपछि तेस्रो स्थानमा रहेका उत्कृष्ट आठ टोली पनि अन्तिम ३२ मा पुग्ने प्रावधान छ ।
इङ्गल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे सबैसँग कम्तीमा चार अङ्क रहेकाले उनीहरू अब आफ्नो समूहमा तेस्रो स्थानमा रहेका केही टोलीले हासिल गर्न सक्ने अधिकतम अङ्कभन्दा अगाडि छन् ।
यसका कारण समूह ए (दक्षिण कोरिया तीन अङ्क), समूह सी (स्कटल्यान्ड तीन अङ्क), समूह एच (उरुग्वे दुई अङ्क/केप भर्डे तीन अङ्क) र समूह आई (सेनेगल तीन अङ्क)का तेस्रो स्थानका टोलीहरूले उनीहरूलाई उछिन्न नसक्ने अवस्था बनेको हो, जसमा ती समूहका खेलहरू यसअघि नै सम्पन्न भइसकेका छन् ।
मध्यविन्दुमा
विश्वकप फुटबल–२०२६ मा बिहीबार समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’ का सबै खेल सकिँदा प्रतियोगिता मध्यविन्दुमा पुगेको छ । विश्वकपका कुल १०४ मध्ये ५४ खेल सकिएका छन् । अब जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुअघि ५० खेल खेल्न बाँकी छन् ।
तिनै आयोजक देश नकआउट चरणमा पुग्नु सुखद रह्यो । अमेरिका र मेक्सिको अन्तिम ३२ मा पुग्नु आश्चर्यजनक थिएन तर अर्को सहआयोजक क्यानडा पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्नु उल्लेखलायक रह्यो ।
अर्जेन्टिनाका लियोनेल मेसीले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा सुरुका दुई खेलमै पाँच गोल गरेर अन्य ठुला टिमलाई चेतावनी दिनुभएको छ । फ्रान्सका किलियन एम्बापे, नर्वेका इर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरले चार/चार गोल गरिसक्नुभएको छ । रोनाल्डाले पनि दुई गोल गरेर आफूलाई दृश्यमा ल्याइसक्नुभएको छ । त्यसैले यसपालि गोल्डेन बुटको दौड रोमाञ्चक हुने पक्का छ ।
विश्वकपका खेल हुँदा रङ्गशालाहरू प्रायः भरिएका छन् । फिफाले यसपालि दर्शकको कीर्तिमानी उपस्थिति हुने दाबी गरेको छ । तीन समूहका सबै खेल सकिँदा १३ राष्ट्रले नकआउटमा स्थान बनाएका छन् । समूह ‘ए’ मा मेक्सिको, समूह ‘बी’ मा स्विट्जरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, समूह ‘डी’ मा अमेरिका, समूह ‘ई’ मा जर्मनी र समूह ‘जे’ मा अर्जेन्टिना समूह विजेता बनेका छन् । फ्रान्स, नर्वे, क्यानडा, मोरक्को, कोलम्बिया, बोस्निया हर्जगोभिना र दक्षिण अफ्रिकाले पनि नकआउट चरणमा खेल्ने पक्का भइसकेको छ । चेक गणतन्त्र, हाइटी, टर्की, ट्युनिसिया, जोर्डन, कतार र पानामा भने प्रतियोगिताबाट बिदा भएका छन् । अब अन्तिम ३२ का लागि २८ टिमबाट १९ टोली प्रतिस्पर्धा गर्दै छ । अफ्रिकाको पश्चिम तटमा रहेको मात्र पाँच लाख जनसङ्ख्या भएको सुन्दर टापु भएको देश केप भेर्डेको नकआउट चरणमा पुग्ने यथार्थपरक सम्भावना छ । सुरुका दुई खेलमा युरोपेली च्याम्पियन र दुई पटकको विश्व विजेता उरुग्वेलाई बराबरीमा रोकेको नवप्रवेशी केप भेर्डेलाई तुलनात्मक रूपमा कमजोर साउदी अरबविरुद्धको जितले नकआउटमा पु¥याउने छ । यदि ससो भएमा यस विश्वकपको यो एउटा सुन्दर कथा हुने छ ।
समूह चरणका खेल केही दिनमा सकिने छ । त्यसपछि विश्वकपको वास्तविक प्रतिस्पर्धा नकआउट सुरु हुने छ । विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिता रहेको छ । विगतमा भन्दा १६ टिम थपिएपछि चार/चार टिमको १२ समूह विभाजन गरिएको छ । विगतमा समूह चरणबाट सिधै प्रिक्वाटरफाइनलमा खेलाइन्थ्यो । यस पटक प्रत्येक समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टिम अन्तिम ३२ मा पुग्ने छन् । त्यसैले यस विश्वकपमा उपाधि जित्न त्यत्ति सहज हुने छैन । यसपालि उपाधि जित्न पाँच नकआउट खेल जित्नुपर्ने भएकाले ठुला टिमलाई पनि गल्ती गर्ने छुट हुने छैन । जुन विश्वकप फुटबलको नयाँ आकर्षण हो ।
यसपालि १०४ खेल हुने हुँदा नै गोलको कीर्तिमान तोड्ने भविष्यवाणी गरिएको थियो । विश्वकपको आधा समयमै कीर्तिमान तोडिने पक्कापक्की नै भइसकेको छ । चार वर्षअघि कतारमा भएको विश्वकपमा कुल १७२ गोल भएका थिए । यसपालि ५४ खेलमै १६१ गोल भइसकेका छन् । यस विश्वकपमा प्रतिखेल गोलको औसत राम्रो छ । यसपालि प्रतिखेल औसतमा २.९८ गोल भएका छन् । जुन पछिल्ला ५० वर्षकै सबभन्दा उच्चतम औसत हो ।
