काठमाडौँ, असार ९ : केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘आई’ अन्तर्गत मङ्गलबार बिहान भएको खेलमा साविक उपविजेता फ्रान्सले इराकलाई ३–० गोलले हरायो । यही समूहको अर्को खेलमा नर्वेले सेनेगललाई ३–२ गोलले स्तब्ध बनायो । नर्वे २८ वर्षपछि नकआउट चरणमा पुगेको हो ।
फ्रान्सको जितमा एमबाप्पेले दुई तथा उस्माने डेम्बेलेले एक गोल गर्नुभयो । एमबाप्पेले १४औँ र ५४औँ मिनेटमा गोल गर्नुभएको थियो ।
यससँगै एमबाप्पे विश्वकपमा १४ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको कीर्तिमान पछ्याउने लाइनमा हुनुहुन्छ । मेस्सीले सोमबार राति अस्ट्रियाविरुद्ध दुई गोल गर्दै विश्वकपमा सर्वाधिक १८ गोल गर्ने खेलाडीको कीर्तिमान रच्नुभएको थियो ।
यस्तै डेम्बेलेले ६६औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सजिलै जिताउनुभयो । खेलभर फ्रान्सको दबाब झेलेको इराकको गोल फर्काउने चाहना पूरा भएन । लगातार दोस्रो जितसँगै ६ अङ्क बनाएको फ्रान्स समूहको शीर्षस्थानमा छ ।
यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको थियो । लगातार दोस्रो हार खेपेको इराक विश्वकपबाट बाहिरिएको छ ।
यस्तै अर्को खेलमा नर्वेलाई जिताउन हालान्डले दुई गोल गर्नुभयो । उहाँले ४८औँ र ५८औँ मिनेटमा गोल गर्नुभएको हो । यसअघि मार्कुस पेडेर्सनले ४३औँ मिनेटमा गोल गर्नुभएको थियो ।
सेनेगलका लागि दुबै गोल इस्माइल सारले फर्काए पनि टोलीको हार टरेन । सारले ५३औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभएको थियो ।
लगातार दोस्रो जितसँगै समूहमा ६ अङ्क बनाएको नर्वे गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको सेनेगलको नकआउट चरण पुग्ने सम्भावना लगभग सकिएको छ ।
