Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

करिब पाँच हजार किसानहरूले जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याए


सूचना कुण्ड
करिब पाँच हजार किसानहरूले जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याए

बर्दिया, असार ७ : राजापुर नगरपालिका र गेरुवा गाउँपालिका करिब पाँच हजार किसानहरू गेरुवा गाउँपालिका–१, जनकनगरस्थित कर्णाली नदी थुनेर खेतमा पानी ल्याएका छन् । 

असारको पहिलो सातासम्म पनि पानी नपर्दा रोपाइका लागि स्थानीय स्रोत साधनको प्रयोग गरी श्रमदान गरेर नदी थुनेर पानी ल्याएका हुन् । ओखरिया इन्टेकबाट १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने गर्दछ । 

खडेरीले गर्दा खेतमा पानी नपुगेपछि किसानहरू ट्याक्टरमा झाला पाता र काठ दाउरा लिएर नदीमा पुगेका थिए । इन्टेकनजिक रहेको कर्णालीको भङ्गालो स्थानीय स्रोत साधनले थुनेर ओखरिया इन्टेकतर्फ पानी ल्याएका छन् ।

धान रोप्ने सिजनमा हरेक वर्ष किसानले नदीमा अस्थायी बाँध बाँधेर खेतमा पानी पुर्‍याउने गरेका छन् । राजापुर सिँचाइ आयोजनाले निर्माण गरेको राजापुर सिँचाइ प्रणाली अन्तर्गतको संयुक्त बुढीकुलो सिँचाइ प्रणाली अन्तर्गत १२  मौजा रहेका छन् । 

राजापुर सिँचाइ प्रणाली व्यवस्थित रूपमा निर्माण नहुँदा हरेक वर्ष जोखिम मोलेर किसानहरू नदीमा बाँध बाध्न जानुपर्ने बाध्यता रहेको छ । पानीको मुहानदेखि टाढा बुढिकुलाको इन्टेक रहेको हुँदा पानी बुढिकुलासम्म ल्याउन जानुपर्ने बाध्यता रहेको गोला जलउपभोक्ता संस्था अध्यक्ष धनबहादुर शाहीले बताउनुभयो । 

अरू स्थानमा स्थायी रूपमा मुहान बने पनि पुरानो सिँचाइ प्रणालीमा स्थायी मुहान नहुँदा हरेक वर्ष जोखिम पुर्ण रूपमा नदीमा पस्नु परेको बताउनुभयो । “राजापुर क्षेत्र अन्नको भण्डार भए पनि सिँचाइका लागि स्थायी मुहान नबनाउँदा किसानले दुःख पाएका छन् । 

नेपाल सरकारले स्थायी बाँध र संरचना बनाएर सिँचाइको व्यवस्थापन गर्नुपर्छ ।” 

उहाँले भन्नुभयो, “सरकारले सात किलोमिटर स्थायी संरचना बनाएमा यो समस्या सँधैका लागि अन्त्य हुन्छ ।” राजापुर र गेरुवावासी जब पानी चाहिन्छ तब अस्थायी बाँध बाध्नका लागि नदीमा पुग्ने गरेको किसान गुरुप्रसाद चौधरीले बताउनुभयो ।

उहाँले लामो समयदेखि पानीको लागि श्रमदान गर्न बाध्य छौं, कहिलेसम्म गर्नुपर्ने हो थाहा छैन । खेती लगाउने समयमा पनि कुलामा पानी नहुँदा जोखिम मोल्न बाध्य भएको बताउनुभयो । नहरमा पानीको मात्रा बढाउन परम्परागत रूपमा बेगारी (जनश्रमदान) गरिरहेको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी विक्रम राईले बताउनुभयो । 

कर्णाली नदी फिँजिएको र ठुलो बजेट लगाएर व्यवस्थान नगर्दासम्म जनताले यसरी नै दुःख पाइराख्नु पर्ने उहाँले बताउनुभयो । नदी धेरै भङ्गालोमा फैलिएको हुनाले एक ठाउँमा संरचना बनाएर नहुने बताउँदै ठुलो बजेट छुट्याएर व्यवस्थित मुहान बनाउनुपर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend