न्युयोर्क, असार ७ : विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ मा शीर्ष दुई स्थान बनाउने अपेक्षा गरिएका टिम स्पेन र उरुग्वे पहिलो जित निकाल्ने प्रयासमा हुने छन् । पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको नवप्रवेशी केप भेर्डेसँगको गोलरहित बराबरीपछि उपाधि दाबेदार स्पेन आलोचित बनेको थियो । स्पेनले दोस्रो खेलमा साउदी अरबविरुद्ध खेल्दै छ । सो समूहमा साउदी अरबले आफ्नो पहिलो खेलमा बलियो मानिएको उरुग्वेसँग १–१ मा खेलेर आफूलाई कमजोर नठान्न चेतावनी दिइसकेको छ । साउदी अरबका प्रशिक्षक जर्जियोस डोनिसले स्पेनविरुद्धको खेलमा उरुग्वेविरुद्ध उतारेको पहिलो रोजाइको टिममा हेरफेर गर्ने सम्भावना देखिँदैन तर स्पेनको पहिलो रोजाइमा भने फेरबदल हुने अनुमान गरिएको छ । लामिने यमाललाई सुरुदेखि नै खेलाउने सम्भावना धेरै छ । केप भेर्डेविरुद्धको खेलमा १८ वर्षीय सुपरस्टार खेलाडी यमाल स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि मात्र स्पेनको आव्रmमण केही प्रभावशाली देखाएको थियो ।
सन् २०१० को विजेता स्पेन पछिल्ला दुई विश्वकपमा अन्तिम १६ बाट बिदा भएको थियो । सन् २०१४ मा उपाधि रक्षा गर्ने व्रmममा स्पेनको चुनौती समूह चरणमै सकाएको थियो । त्यसैले पहिलो खेलमा मात्र एक अङ्क बनाएको स्पेन साउदी अरबविरुद्ध खेल्दा केही दबाबमा हुने छ । यद्यपि युरोपेली च्याम्पियन स्पेन लयमा फर्किएमा साउदी अरबलाई खेल कठिन हुने पक्का छ । साउदी अरबले पछिल्लो संस्करणमा अर्जेन्टिनालाई २–१ ले हराएर विश्वकप इतिहासकै स्तब्धकारी नतिजा नकालेको थियो । सन् १९९४ मा अमेरिकामै विश्वकप हुँदा साउदी अरबले समूह चरण पनि पार गरेको थियो । यसअघि विश्वकपमा यी दुई टिमबिच सन् २००६ को समूह चरणमा भिडन्त भएको थियो । सो समय स्पेनले साउदी अरबलाई १–० ले हराएको थियो । यसै गरी स्पेनले साउदी अरबलाई दुई मैत्री खेलमा पनि पराजित गरेको छ । समूह ‘एच’ मै केप भेर्डेविरुद्ध खेल्दा उरुग्वेलाई पनि जितको दबाब रहने छ । केप भेर्डेले पहिलो खेलमा स्प्ेनलाई गोलरहित बराबरीमा रोकेकाले उरुग्वे सतर्क छ । हालै बेन्फिकामा आबद्ध भएका केप भेर्डेका सिड्नी लोपेस काब्रालले स्पेनसँगको खेलले मनोबल धेरै उच्च भएकाले उरुग्वेविरुद्धको खेल जित्न सक्छु भन्ने विश्वास टिममा भएको बताउनुभयो । “हाम्रो टिममा क्वालिटी छ, त्यसैले सबैमा नकआउट चरणमा पुग्न सक्छौँ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो । यद्यपि रियल म्याड्रिडबाट खेल्ने उरुग्वेका प्लेमेकर फेडरिको भलभार्डे र टेल्मो अरकान्जोलगायत थुप्रै विश्वस्तरीय खेलाडीको बाहुल्य रहेको उरुग्वेविरुद्धको खेल जित्न केप भेर्डेलाई कठिन नै हुने छ ।

खुला समूह जी
बेल्जियम, इरान, इजिप्ट र न्युजिल्यान्ड चारै टिम समान १÷१ अङ्कमा रहेकाले समूह ‘जी’ खुला रहेको छ । पहिलो खेलमा बेल्जियमले इजिप्टसँग १–१ र इरानले न्युजिल्यान्डसँग २–२ ले बराबरीमा खेलेका थिए । यस समूहमा सबभन्दा बलियो मानिएको बेल्जियम रोमेलु लुकाकु स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेर बराबरी गोलमा संलग्न भएपछि मात्र इजिप्टविरुद्ध हार टार्न सफल भएको थियो । पछिल्लो संस्करणमा उपाधि दाबेदार भए पनि बेल्जियम समूह चरणबाटै बिदा भएको थियो । त्यसैले समूह चरणमा अन्तिम खेल खेल्नुअघि बेल्जियम इरानविरुद्ध जित हात पारेर आफ्नो स्थिति सुदृढ पार्न चाहन्छ । इरानविरुद्धको खेलमा बेल्जियमले आव्रmामक रणनीति अपनाउने अपेक्षा गरिएको छ । मिडफिल्डर केभिन डी बु्रयन, विन्गर जेरेम डोकु र गोलरक्षक थिबाउट कोटियोको साथमा बेल्जियम यसपालि पनि बलियो नै छ । पहिलो खेलमा न्युजिल्यान्डसँग दुई पटक गोल फर्काएर २–२ ले बराबरीमा खेलेको इरानले आफ्नो डिफेन्स अझ कडा बनाउने अनुमान छ । यद्यपि कप्तान मेहदी तेरामी, रामिन रेजाइन र मोहम्मद मोहम्मद मोहेबी जस्ता फरवार्डका कारण बेल्जियम ढुक्क हुने स्थिति भने छैन । बेल्जियम र इरान बाँकीका दुई खेलमा कम्तीमा चार अङ्क बनाएपछि अन्तिम ३२ मा पुग्ने छन् । इरान अहिले अमेरिकामा खुसी छैन । इरानले शुव्रmबार मात्र अमेरिकाले आफ्नो टिममाथि यात्रा प्रतिबन्धविरुद्ध फिफामा उजुरी दिएको थियो । इरानी टिमलाई खेलको २४ घन्टाभित्र अमेरिकामा प्रवेश गर्न र सोही दिन छाड्नुपर्ने नियम बनाइएको छ ।
यसै समूह अन्तर्गत सोही राति हुने अर्को खेलमा न्युजिल्यान्ड र इजिप्ट पनि नकआउट चरणमा पुग्न यथार्थपरक मौकाबिच एकअर्काविरुद्ध खेल्ने छ । यी दुवै टिम आआफ्नो पहिलो खेलमा अग्रता बनाएर पनि बराबरीमा रोकिएका थिए । सन् २०१० मा भएको विश्वकपमा न्युजिल्यान्डले तीन खेल बराबरीमा खेलेको थियो । पछिल्लो खेलमा दुई पटक अग्रता बनाएर पनि इरानसँग न्युजिल्यान्ड बराबरीमा रोकिएको थियो । न्युजिल्यान्ड अब मोहम्मद सलाहको टिम इजिप्टविरुद्ध खेल्दै छ । विश्वकप छनोटमा नौ गोल गरेका सलाह न्युजिल्यान्डका लागि सबभन्दा ठुलो खतरा हुने छन् ।
