Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

भरतपुरमा यस्तो छ रास्वपाको प्रथम महाधिवेशनको तयारी


सूचना कुण्ड
भरतपुरमा यस्तो छ रास्वपाको प्रथम महाधिवेशनको तयारी

चितवन, असार ५ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ । महाधिवेशनका लागि १८ वटा विभिन्न उपसमितले तयारी गरिरहेका छन् । अहिले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको छ ।

महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्ट हाउस चौरमा र बन्दसत्र उद्योग सङ्घ चितवनमा हुने गरी तयारी भइरहेको रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो । “हामीले महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढाएका छौँ ।  उद्घाटन सत्र हुने स्थान गेस्टहाउस चौरमा विशेष डोमको निर्माण कार्य सुरु भएको छ,” उहाँले भन्नुभयो । 

उद्घाटन समारोहका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माणको काम भइरहेको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीन वटा डोम जोडेर एउटै सभाहल बनाइने केन्द्रीय सदस्य गौतमले जानकारी दिनुभयो । डोमको छानो ‘वाटरप्रुफ टेन्साइल फेब्रिक’ बाट बनाइँदै छ । मौसमको ख्याल गरेर घाम, पानी तथा हावाको प्रभावबाट सहभागीहरूलाई सुरक्षित बनाउन लागिएको  हो ।

रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले डोमभित्र एलइडी स्व्रिmन, पङ्खा, कुलर र कुर्ची व्यवस्थापनका लागि पर्याप्त स्थान रहने जानकारी दिनुभयो । “सहभागीलाई  सहज रूपमा मञ्च अवलोकन गर्न सक्ने व्यवस्था मिलाउने गरी तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । अन्तर्राष्ट्रियस्तरका ठुला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित र मौसम प्रतिरोधी संरचना निर्माण भइरहेकाले चितवन आउने देशभरीका रास्वपा प्रतिनिधिलाई सहज हुने उहाँले जानकारी दिनुभयो ।  

उद्घाटनका क्रममा चितवनका विभिन्न संस्कृति झल्कने ब्यानर सजावटका रूपमा रहने बताइएको छ । महाधिवेशन स्थल परिवर्तन गरेर भरतपुर ल्याइएको हो । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटेल स्टारमा गर्ने तयारी भए पनि अन्तिम अवस्थामा भरतपुर सारिएको हो । चितवनको टाँडीमा करिब छ हजार प्रतिनिधि अट्ने बाँसको पन्डाल बनाउने काम भए पनि भरतपुरमा सारिएको हो । अहिले भरतपुरमै डोम बनाउने कार्य सुरु भएको छ । 

महाधिवेशनमा तीन हजार प्रतिनिधि 

महाधिवेशनको उद्घाटन सत्रमा ४० हजार जनाको सहभागिता रहने रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह, रास्वपा सभापति रवि लामछिानेलगायतका नेताले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । प्रमुख दलका नेतालाई पनि महाधिवेशन उद्घाटनका क्रममा अतिथिका रूपमा निमन्त्रणा गरिएको छ ।  नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा (एमाले) अध्यक्ष केपी ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत अध्यक्ष सिके राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा पठाइएको बताइएको छ । 

होटेलमा छुट

महाधिवेशनका सहभागीहरूले आफू बस्ने होटेलको भाडा भने आफैँ तिर्ने व्यवस्था रास्वपाले गरेको छ । त्यसका लागि होटेल सङ्घ चितवनको पहलमा होटेल सञ्चालकहरूले विशेष छुटको व्यवस्था गरेका छन् । 

होटेल सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालका अनुसार चितवनका होटेलले लजमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको जानकारी दिनुभयो । चितवनका सयभन्दा बढी होटेलमा आफ्ना प्रतिनिधि राख्ने गरी तयारी भइरहेको रास्वपा चितवनका सचिव पौडेलले जानकारी दिनुभयो । साथै महाधिवेशनमा आउने सहभागीका लागि सौराहा, रत्ननगर र भरतपुरका होटेलमा आवासको प्रबन्ध गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend