Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार


सूचना कुण्ड
नेपाल–भारत सीमामा ४२ नयाँ सीमा स्तम्भ निर्माण, १०९ को मर्मतसम्भार

जमुनाह, असार ३ : नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरूको अवस्था अध्ययन, अभिलेखीकरण तथा मर्मतसम्भारका लागि सञ्चालन गरिएको तीन महिने फिल्ड सर्वेक्षण सम्पन्न भएको छ । तीन महिनादेखि खटिएको प्राविधिक टोलीले बाँके, दाङ, कपिलवस्तु र नवलपरासी क्षेत्रका सीमा स्तम्भहरूको प्राविधिक अध्ययन पूरा गरेको हो । सर्वेक्षणका क्रममा सीमा स्तम्भको अवस्थिति यकिन गर्ने, हराएका वा क्षतिग्रस्त स्तम्भहरूको विवरण सङ्कलन गर्ने तथा अभिलेख अद्यावधिक गर्ने काम गरिएको छ ।

नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय बैठकपछि गठन गरिएको फिल्ड सर्वेक्षण टोली नम्बर ३ ले नवलपरासीको त्रिवेणीघाटदेखि बर्दियाको कर्णाली क्षेत्रसम्मको सीमा क्षेत्रमा कार्य गरेको थियो । टोलीको कार्यक्षेत्र नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्ला रहे पनि यसपटक मुख्य रूपमा बाँके, दाङ र कपिलवस्तुमा सीमा स्तम्भ निर्माण तथा मर्मतसम्भारको काम गरिएको छ ।

नापी विभागका प्रमुख नापी अधिकृत खिम रानाका अनुसार नेपाल र भारत दुवै पक्षको सहकार्यमा ४२ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको छ भने एक सय नौ वटा सीमा स्तम्भको मर्मतसम्भार सम्पन्न गरिएको छ । बाँके जिल्लामा मात्र ३५ वटा नयाँ सीमा स्तम्भ निर्माण गरिएको तथा नेपालतर्फ ४९ र भारततर्फ ४६ गरी ९५ वटा सीमा स्तम्भको मर्मतसम्भार गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल र भारत दुवै पक्षको सहकार्यमा सीमा स्तम्भलाई भू–उपग्रह प्रणालीसँग आबद्ध गर्ने उद्देश्यले विभिन्न स्थानमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर अवलोकनसमेत गरेका छौँ ।” सीमा व्यवस्थापनलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल–भारत सीमा सन्दर्भ प्रणालीअन्तर्गत नवलपरासीको बर्दघाट, कपिलवस्तुको तिलौराकोट क्षेत्र, दाङको लमही र बाँकेको कालाबञ्जरमा मुख्य मापन केन्द्र स्थापना गरी ७२ घण्टासम्म निरन्तर जीपीएस अवलोकन गरिएको थियो । साथै सीमाका स्तम्भहरूलाई भविष्यमा जीपीएसमा आधारित प्रणालीमा आबद्ध गर्न सहायक मापन केन्द्रका लागि आवश्यक स्थान छनोटको काम पनि सम्पन्न गरिएको छ ।

फिल्ड सर्वेक्षण टोलीको काम सम्पन्न भएपछि नेपाल–भारत सीमासम्बन्धी संयुक्त सुरक्षा संयन्त्रको समीक्षा बैठक नेपालगन्जमा सम्पन्न भएको थियो । बैठकमा नेपालतर्फ बाँके, दाङ, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी तथा भारततर्फ श्रावस्तीसहित सम्बन्धित जिल्लाका अधिकारीहरूको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दका अनुसार बैठकले सीमा स्तम्भहरूको अवस्था, मर्मतसम्भारको प्रगति, पुनर्निर्माण तथा आगामी कार्ययोजनाबारे समीक्षा गरेको थियो । “नेपाल–भारत सीमासम्बन्धी संयुक्त समितिको निर्णयअनुसार फिल्ड सर्वेक्षण टोली परिचालन गरिएको हो । टोलीले सीमा स्तम्भहरूको अवस्थिति, मर्मतसम्भार र पुनर्निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन सम्पन्न गरेको छ । निर्माण तथा मर्मतसम्भारपछि सीमा स्तम्भको संरक्षण र सुरक्षाको जिम्मेवारी सम्बन्धित सुरक्षा निकायले निर्वाह गर्नेछन्,” उहाँले भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend