Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सातवर्षमा वन डढेलोका दुई हजार १५९ घटना, ३० जना व्यक्तिको मृत्यु


सूचना कुण्ड
सातवर्षमा वन डढेलोका दुई हजार १५९ घटना, ३० जना व्यक्तिको मृत्यु

काठमाडौँ, फागुन ३०: हरेक वर्ष झैँ यस वर्ष पनि चैत १ गतेदेखि विभिन्न कार्यक्रमका साथ वन डढेलो व्यवस्थापन सप्ताह मनाइँदै छ ।

वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह र समुदायलाई एकीकृत र प्रभावकारी रूपमा वन डढेलो लाग्न नदिन र लागेमा पनि तत्काल नियन्त्रणका उपाय अवलम्बन गरी वन डढेलो व्यवस्थापन सप्ताह मनाउने कार्यक्रम रहेको जनाएको छ ।

“वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनवटै तहका सरकार र समुदायको सक्रिय सहभागिता” भन्ने मूल नाराका साथ देशभरि वन डढेलो नियन्त्रण र व्यवस्थापनका कार्यक्रम मनाइने भएका छन् । विशेष गरी फागुन महिनाको अन्तिमदेखि जेठ महिनासम्म वन डढेलोको प्रकोप निकै बढ्ने गरेको छ । यस्तो बेला वन डढेलो नियन्त्रण गर्न र लाग्नै नदिने उपाय अपनाउन समुदाय चनाखो हुनुपर्ने कुरामा सरकारले जोड दिएको छ ।

वन तथा भूसंरक्षण विभागका अनुसार २०७५ सालदेखि हालसम्म वन डढेलोका दुई हजार १५९ घटना भएका छन् भने ती घटनामा परी ३० जना व्यक्तिको मृत्यु भएको छ । वन डढेलोमा परी ५५ जना सख्त घाइते भएका छन् भने करिब सात सय परिवार वन डढेलोका कारण विस्थापित तथा प्रभावित भएका छन् ।

त्यसैगरी १३३ वटा घर पूर्ण रूपले जलेर नष्ट हुँदा लाखौँ धनसम्पत्ति नष्ट भएको छ । सो अवधिमा ३४७ घरमा आंशिक क्षति पुगेको छ । विभागका अनुसार ३३५ गोठ जलेर नष्ट भएका छन् भने ५९२ पशुचौपायाको जलेर मृत्यु भएको छ । सो अवधिमा वन डढेलोका कारण मानवीय क्षति बाहेकको धनसम्पत्तिको गरी ९१ करोड ७९ लाख २७ हजार मूल्य बराबरको क्षति भएको विभागले जनाएको छ । यो अवधिमा वन डढेलोले एक लाख ५१ हजार ४३९ हेक्टर वन क्षेत्र नष्ट भएको बताइएको छ । सो वन क्षेत्रमा जैविक विविधता पूर्ण रूपमा नष्ट भएको विभागले जनाएको छ ।

वन तथा भूसंरक्षण विभागले २०८२ साल वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको वन डढेलोको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा यो अवधिमा देशभरि वन डढेलोका २८२ वटा घटना भएको उल्लेख गरिएको छ । ती घटनाबाट धनजनको क्षति मात्र नभई वन विनाश, जैविक विविधताको हानि नोक्सानी, वन्यजन्तु आगलागीमा परी मरेको कुरा पनि उल्लेख गरिएको छ ।

Ra sa pa photo.jpg

वन डढेलो विशेष गरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी लाग्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भौगोलिक अवस्थामा हेर्दा चुरे शिवालिक क्षेत्र र मध्यपहाडी क्षेत्रमा बढी वन डढेलो लाग्ने गरेको पाइएको छ ।वन डढेलोले पुर्‍याउने हानि नोक्सानीको क्षति हेर्दा यो एक प्राकृतिक विपत्तिका रूपमा देखा पर्न थालेको छ ।

यो वातावरणीय चुनौतीका रूपमा पछिल्लो दिनमा खडा भएको कुराले उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वतयारी तथा निगरानी प्रणाली सुदृढीकरण गर्नुपर्ने, वन क्षेत्रमा रहेका स्याउला सोत्तर, सुकेका दाउरा, घाँसपातको व्यवस्थापन गर्नुपर्ने, पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने, वन डढेलो नियन्त्रणका लागि समुदायस्तरमा प्राविधिक क्षमताको विकास र उपकरण प्रदान गर्नुपर्ने लगायतका सुझाव सो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएका छन् । बाढी, पहिरो, डुबान जस्तै वन डढेलो पनि अर्को प्राकृतिक विपत्तिका रूपमा देखिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend