Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

रास्वपाको विधान संशोधन, बालेन शाहलाई प्रधानमन्त्री चयनको बाटो खुलाईँदै


सूचना कुण्ड
रास्वपाको विधान संशोधन, बालेन शाहलाई प्रधानमन्त्री चयनको बाटो खुलाईँदै

काठमाडौँ, फागुन ३०: प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ । 

रास्वपामा हालसम्म पार्टीको महाधिवेशन भइनसकेकाले विधान परिमार्जनको अधिकार केन्द्रीय समितिलाई रहेकाले आगामी केन्द्रीय समितिले विधानका कतिपय प्रावधानलाई समय अनुकूल बनाउन लागेको हो । रास्वपाले उक्त व्यवस्थालाई संशोधन गरी संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन लागेको हो । निर्वाचनअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो । सामान्यतया पार्टी सभापति नै संसदीय दलको नेता बन्ने प्रचलन छ । 

निर्वाचनमा रास्वपाले एकल बहुमत प्राप्त गरेको अवस्थामा पार्टीले यसअघि नै घोषणा गरेका शाहलाई संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री चयन गर्ने प्रव्रिmयालाई समय सान्दर्भिक बनाउन रास्वपाले विद्यमान विधान परिवर्तन गर्न लागेको हो । बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यावहारिक नभएको निक्र्योलसहित रास्वपाले विधान संशोधन गर्न लागेको हो । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने विधि प्रव्रिmयालाई परिमार्जन गरी छिटोछरितो र व्यावहारिक बनाउन लागिएको बताउनुभयो । 

कार्कीले भन्नुभयो, “निर्वाचनअघि वरिष्ठ नेता शाह र रास्वपाबिचको सहमति अनुसार पार्टीको विधान परिमार्जन आवश्यक थियो सोही अनुसार गर्ने गरी छलफल भइरहेको हो ।” उहाँले निर्वाचित प्रतिनिधि सभा सदस्यबाटै संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको पनि बताउनुभयो । 

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट र समानुपातिकतर्फ ११० मध्ये ५७ सिट गरी १८२ सिटमा जित हासिल गरेको छ । यो सङ्ख्या प्रतिनिधि सभाको कुल २७५ सिटको दुई तिहाइमा दुई मत कम हो । रास्वपाले प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदमध्येबाट ५० प्रतिशत मत कटाउने उम्मेदवारलाई संसदीय दलको नेता चयन गर्ने व्यवस्थासहितको विधान संशोधन गर्न लागेको हो ।

विधान संशोधनपछि रास्वपाको संसदीय दलले वरिष्ठ नेता शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ ।  गत पुस १३ गते रास्वपा र शाहबिच भएको सातबुँदे सहमतिमा शाहलाई पार्टीको वरिष्ठ नेता र भावी प्रधानमन्त्री बनाउने सहमति भएको थियो । 

रास्वपाको केन्द्रीय सभापति र पार्टी नेतृत्व रवि लामिछाने, सरकारको नेतृत्व बालेन्द्र शाह र समग्र पार्टी र सरकारको नीति रणनीतिको नेतृत्व उपसभापति स्वर्णिम वाग्लेले गर्ने गरी आन्तरिक कार्यविभाजनको तयारीबारे समेत पार्टीमा अनौपचारिक छलफल भइरहेको बुझिएको छ । 

यसैबिच रास्वपाले पार्टीमा छलफल गरेर समानुपातिकतर्फको सूची तयार गर्ने काम पनि अघि बढाएको छ । रास्वपाले समानुपातिकतर्फ ५७ सिटमध्ये ४८ जना महिला समानुपातिक सदस्य चयन गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend