Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कको ऋण


सूचना कुण्ड
दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कको ऋण

काठमाडौँ, फागुन २८ : उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि उपलब्ध गराइने उक्त ऋण विश्व बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो ।

यस परियोजनाले मुख्य रूपमा उद्योगधन्दा एवं व्यावसायिक भवनबाट निस्कने दूषित वायु कम गरेर वायुको गुणस्तर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो परियोजना वायुप्रदूषणबाट अत्यधिक प्रभावित हुने काठमाडौँ उपत्यका, तराई र आसपासका पहाडीक्षेत्रमा कार्यान्वयन हुने छ ।

“वायुप्रदूषण केवल सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जोखिम मात्र होइन यो त नेपालका लागि आर्थिक भार पनि हो,” विश्व बैङ्कको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले भन्नुभयो । 

वायुप्रदूषणका कारण स्वास्थ्य र गुमेको श्रम उत्पादकत्वसमेत जोड्दा नेपालले प्रत्येक वर्ष कुल गार्हस्थ उत्पादनको छ प्रतिशतको अतिरिक्त भार बेहोर्नु परेको उहाँको भनाइ छ । 

यस परियोजनाले हरित र प्रभावशाली प्रविधिको प्रयोगमार्फत व्यवसाय सञ्चालन गर्ने र त्यसमार्फत लाखौँ नेपालीलाई वायुप्रदूषणको जोखिम घटाउन सहयोग पुग्ने सिस्लेनले बताउनुभयो । “यसले सञ्चालन खर्च घटाउने, प्रतिस्पर्धी क्षमता बढाउने र दिगो औद्योगिक वृद्धिलाई सहयोग पुग्ने छ,” उहाँले भन्नुभयो । 

औद्योगिक उत्सर्जन मुलुकको वायुप्रदूषणका लागि सबैभन्दा ठुलो स्रोत बन्न पुगेको पनि विश्व बैङ्कले जनाएको छ । यस परियोजनाले चार सय वटा उद्योग र व्यापारिक संस्थालाई वित्तीय तथा हरित प्रविधि प्रयोगमा सहयोग गर्ने विश्व बैङ्कले जानकारी दिएको छ । यस अन्तर्गत विद्युतीय बोइलरको प्रयोग, आधुनिक बायोमास र अत्याधुनिक उत्सर्जन नियन्त्रण प्रविधि कार्यान्वयन गरिने पनि बैङ्कले उल्लेख गरेको छ । उद्योग विभाग र वातावरण विभागले नेपालका यस परियोजनाको कार्यान्वयन गर्ने छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्क हरित प्रविधि वित्तीय सुविधा उपलब्ध गराउने संस्थाका रूपमा रहने छ । यो परियोजनालाई बेलायत र स्विट्जरल्यान्डसमेतको सहयोगमा थप ७३ करोड रुपियाँ अनुदान प्राप्त हुने छ ।  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend