Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने


सूचना कुण्ड
धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने

काठमाडाैं, फागुन ८ : ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको छलफलले धरहराको हस्तान्तरण तथा सञ्चालन र व्यवस्थापन प्रक्रियाको अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । 

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिनको लागि आवश्यक अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले धरहराको पार्किङ र सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनैपनि असर नपर्नेगरी अध्ययन गरेर निष्कर्ष निकाल्ने र सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताउनु भयो । 

धरहराको बेसमेन्ट पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकालाई दिने निर्णय छलफलले गरेको छ । महानगरपालिकाले न्युरोड क्षेत्रलाई नो पार्किङ जोन घोषणा गरी कार्यान्वयन गरिरहेको अवस्थामा धरहरामा निःशुल्क पार्किङको सुविधा गर्ने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘धरहरालाई काठमाडौं महानगरलाई हस्तान्तरण गर्नुपर्छ भन्ने माग हामीले गर्दै आइरहेका छौँ । पहिले पनि धरहराको व्यवस्थापन तथा सञ्चालन काठमाडौं महानगरपालिकाले नै गर्दै आइरहेको हो । अहिले स्थानीय सरकारको रुपमा धरहरा व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाले गर्छ र त्यसका लागि तत्पर छ । आजको बैठकमा पनि यो अनुरोध रह्यो । धरहरा महानगरलाई हस्तान्तरण गर्ने प्रक्रिया र त्यसको सञ्चालनको बारेमा अध्ययन गर्नको लागि समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । अर्को महत्वपूर्ण कुरा, न्यूरोड आफैंमा एउटा कमर्सियल एरिया हो । यहाँ धेरै व्यवसायहरु चलिरहेको छ । त्यहाँ अहिले पार्किङ सडकमा गर्न पाइदैन भन्ने छ । त्यसको कार्यान्वयन पनि भइरहेको छ । हामीले नगर त भन्यौँ तर विकल्प दिन सकिरहेका छैनौँ । त्यसको महत्वपूर्ण विकल्प भनेको धरहराको अण्डरग्राउण्ड पार्किङ रहेको छ ।’

उहाँले धरहराको व्यवस्थापन र हस्तान्तरण काठमाडौं महानगरपालिकालाई दिइए महानगरको आन्तरिक राजश्व बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend