Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

विभिन्न राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाए


सूचना कुण्ड
विभिन्न राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाए

काठमाडौँ, पुस १५ : राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै निर्वाचन कार्यक्रम अगाडि बढेसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको जगमा गत भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । उहाँले सरकारको सिफारिसमा फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोक्नुभयो । लगत्तै निर्वाचन आयोगले निर्वाचन तालिका प्रकाशन गर्दै निर्वाचन कार्यक्रम अगाडि बढाएर समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझेको हो । राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोगका पदाधिकारी तथा मन्त्रीपरिषद्का सदस्यले राजनीतिक दलका शीर्ष र दोस्रो तप्काका नेतासँग निरन्तर संवाद अगाडि बढाएपछि उम्मेदवारी पेस गर्ने अवस्था आइपुगेको हो । 

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम पुस १३ र १४ गते तोकेकोमा पुस १४ गते सोमबार मध्यरातिसम्म एकल र समूहमा गरी ५७ वटा निर्वाचन चिह्न प्राप्त गरेका दलले उम्मेदवारको बन्दसूची बुझाउन आयोगमा धरौटी राखेका छन् । प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाले बन्दसूची पेस गर्ने दलले पचास हजार रुपियाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ । एक सय वटा दलबाट ९३ निर्वाचन चिह्न प्रयोग हुने गरी दर्ता स्वीकृत भएकामा ३६ वटा निर्वाचन चिह्न प्रयोग गर्ने स्वीकृति पाएका दलले समानुपातिकतर्फ भाग लिएनन् । 

नेपालको संविधान २०७२ को धारा ८४ (क) ले प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र (ख) ले सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ । समानुपातिक निर्वाचित हुने ११० सदस्यका लागि सोमबार राति १:३० बजेसम्म ४९ वटा निर्वाचन चिह्नका लागि तीन हजार दुई सय उम्मेदवारको सूची प्राप्त भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । आठ वटा दल सूची बुझाउने क्रममा छन् । 

विघटित प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा (एमाले) ले सोमबार मध्यराति बन्दसूची बुझाएको हो । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीले पनि बन्दसूची पेस गरेको छ तर नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य राजनीतिक दल भने समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राति १:३० बजेसम्म कागजात मिलाउने क्रममै थिए । बन्दसूची बुझाएपछि एमाले निर्वाचन विभागका प्रमुख नीरज आचार्यले ११० जना उम्मेदवारको सूची बुझाएको बताउनुभयो । यसै गरी नेपाली कम्युनिस्ट पार्टीले पनि मध्यराति ११० जना उम्मेदवारको सूची बुझाएको छ ।

 प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले बन्दसूची पेस गर्ने दलले न्यूनतम ११ र अधिकतम ११० जनाको नाम पेस गर्नुपर्ने व्यवस्था गरेको छ । ऐनको सो व्यवस्थाबमोजिम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माले), एकल चिह्न जाँतो, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल सदभावना पार्टी, नेकपा (एमाले) र जनमत पार्टीले छुट्टाछुट्टै ११० जना उम्मेदवारको सूची बुझाएका हुन् । उम्मेदवारको बन्दसूची बुझाउन आयोग पुगेका नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्माले आफ्नो दलले ११० जनाको सूची तयार गरेको बताउनुभयो ।  जनता समाजवादी पार्टी नेपालले भने १०१ जना उम्मेदवारको सूची बुझाएको छ । बन्दसूची पेस गरेका बाँकीको करिब ३५ दलले ११ देखि ४३ जना उम्मेदवार राखेर सूची तयार गरेका हुन् । यसरी निर्वाचन आयोगमा बुझाइएका बन्दसूची उपर आयोगले छानबिन गर्ने छ । छानबिनपछि संशोधन गर्नुपर्ने भए आयोगले पुस २१ देखि २७ गतेसम्म दललाई संशोधन गर्न समय प्रदान गर्ने छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend