काठमाडौँ, पुस १४ :करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका सञ्चालनमा आएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सीमापार ढुवानीमा संलग्न नेपाली ट्रकका सवारीचालक बिहान ७ बजेदेखि केरुङतर्फ आवागमन गर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीन सीमामा ल्हेन्देखोलामा निर्माणाधीन बेलिब्रिजको प्राविधिक जाँच सफल भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने निर्णय भएको छ ।”
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले रसुवा नाकास्थित मैत्री पुलको ठाउँमा नयाँ बेलिब्रिज निर्माण भइसकेको र आइतबारदेखि सो पुल भएर मानिसको आवतजावत सुरु भइसकेको जानकारी दिनुभयो ।
यही पुस १७ गते (बिहीबार) देखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई समेत नाकाबाट आवागमनको अनुमति दिइने छ । चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।
