Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट भएन


सूचना कुण्ड
सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट भएन

काठमाडौँ, पुस १३ :  बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्धारित समयमा सञ्चालन नहुने भएको छ । पुसदेखि सञ्चालन गरिने भनिएको सो सुरुङमार्गको पश्चिमी ‘पोर्टल’ को काम अझै सुरु हुन सकेको छैन । पहिरो गइरहने पश्चिमी ‘पोर्टल’ निर्माणका लागि अझसम्म डिजाइन स्वीकृत हुन सकेको छैन । त्यसै गरी सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट हुन सकेको छैन ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालले सुरुङमार्गलाई पुसदेखि सञ्चालनमा ल्याउने भन्ने कार्यक्रम रहे पनि अहिलेसम्म सुरुङमार्गको पश्चिमी पोर्टलको निर्माण सुरु हुन नसकेको र सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक कम्पनी छनोट नै हुन नसकेकाले अहिले सुरुङमार्ग सञ्चालनमा आउन नसक्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार पश्चिमी पोर्टल निर्माणको डिजाइन तयार भई स्वीकृतिका क्रममा छ । स्वीकृतिका लागि सडक विभागमा पेस भइसकेको छ । पश्चिमी पोर्टलमा सधैँ पहिरो गइरहन्छ । त्यही ठाउँमा मुख्य राजमार्गदेखि सुरुङमार्गको पोर्टलसम्म पहुँचमार्ग र ‘टोल बुथ’ निर्माण गर्नु पर्छ, जसको अहिलेसम्म डिजाइन स्वीकृत हुन सकेको छैन । 

डिजाइन स्वीकृत भइसकेपछि पहुँचमार्ग र ‘टोल बुथ’ निर्माण हुने निर्देशक नेपालले स्पष्ट पार्नुभयो । त्यसै गरी सो ठाउँमा पहिरो आउन नदिनका लागि आवश्यक काम बाँकी छन् । “यी भौतिक संरचनाको निर्माण सुरु गर्न सबैभन्दा पहिला डिजाइन स्वीकृत हुनु प¥यो । यी संरचनाको निर्माण सम्पन्न भइसकेपछि मात्र सुरुङमार्ग सञ्चालनमा आउन सक्छ,” उहाँले भन्नुभयो । 

दोस्रो पटक म्याद थप

आयोजना निर्देशक नेपालले सो सुरुङमार्ग सञ्चालनका लागि सेवाप्रदायक कम्पनी छनोट गर्न आह्वान गरिएको बोलपत्रको म्याद दोस्रो पटक थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार १४ दिनका लागि म्याद थप गरिएको छ ।

कात्तिकमा निकालिएको बोलपत्रको पहिलो म्याद पुस २ गतेसम्म थियो । त्यसपछि पहिलो पटक पुसको १६ गतेसम्म म्याद थप गरिएको थियो भने अहिले दोस्रो पटक पुस ३० गतेसम्मका लागि बोलपत्रको म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो । बोलपत्रसम्बन्धी कागजात तथा सर्तमा सामान्य संशोधन गरिएकाले म्याद थपिएको उहाँको भनाइ छ ।

पुस ३० गतेपछि कम्पनी छनोटको सम्पूर्ण प्रक्रिया पुरा गर्न दुई महिनादेखि तीन महिना लाग्न सक्छ ।’’ सेवाप्रदायक कम्पनी छनोट गर्न आयोजनाले कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र (इन्टरनेसनल कम्पिटेटिभ बिडिङ, आइसिबी) आह्वान गरेको थियो ।

निर्देशक नेपालले भन्नुभयो, “पुस ३० गते ठेक्का खोलिन्छ । कुन कुन कम्पनीले बोलपत्र भरेको थाहा हुन्छ र तिनीहरूको विभिन्न मूल्याङ्कनका आधारमा बोलपत्रका सर्त पूरा गरेका कम्पनी छनोट गरिन्छ ।” छनोट भएका सेवाप्रदायक कम्पनीले सवारीसाधनबाट सङ्कलन भएको रकम हरेक दिन सरकारी राजस्व जम्मा गर्छ । सेवा दिएबापत सो कम्पनीले आयोजनाबाट रकम पाउने हो । प्राविधिक र प्रशासनिक जनशक्ति सेवाप्रदायक कम्पनीकै हुन्छन् । त्यसबापत पनि उनीहरूले रकम पाउने हो । 

चार ‘सिफ्ट’ मा चौबिसै घण्टा सञ्चालन हुने सुरुङमार्गका लागि करिब १५० जनशक्ति चाहिने आयोजना निर्देशक नेपालले जानकारी दिनुभयो । सरकारले यसअघि नै सुरुङमार्ग भएर गुड्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर तोकिसकेको छ । उहाँका अनुसार सुरुङमार्गको सुरक्षा व्यवस्थापनमा ६४ जना,  सडक दस्तुर सङ्कलन उठाउन ५४ जना, ट्राफिक व्यवस्था अनुगमन तथा नियन्त्रणका लागि १४ जना र सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि आठ/आठ जना जनशक्तिको व्यवस्थापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend