Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

लयमा फर्किँदै पर्यटन : अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटकले घुमे


सूचना कुण्ड
लयमा फर्किँदै पर्यटन :  अन्नपूर्ण संरक्षण क्षेत्रमा  दुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटकले  घुमे

मनाङ, कात्तिक २७ : नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एसीए) ले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । सन् २०२५ को जनवरीदेखि अक्टोबर महिनासम्म अन्नपूर्ण क्षेत्रमा लुई लाख ४६ हजार ५७५ जना विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या गत वर्षको कुल आगन्तुक सङ्ख्याभन्दा बढि हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र कार्यक्रम (एसीएपी) का तथ्याङ्कअनुसार सो अवधिमा आएका पर्यटकमध्ये एक लाख ४६ हजार ९६८ जना दक्षिण एसियाली मुलुकहरूबाट आएका थिए भने ९९ हजार ६०७ जना अन्य देशका रहेका थिए । पछिल्ला वर्षहरूमा विश्वव्यापी महामारी र आर्थिक मन्दीका असरबिच पनि यो वृद्धिदरलाई क्षेत्रीय पर्यटन पुनरुत्थानको सकारात्मक सूचकका रूपमा हेरिएको छ ।

एसीएपीका प्रमुख रबिन कडरियाका अनुसार सन् २०२० मा कोभिड–१९ को महामारीका कारण अन्नपूर्ण क्षेत्रमा मात्र १८ हजार ८३६ जना विदेशी पर्यटक आएका थिए । “पछिल्ला चार वर्षमा यो क्षेत्रले निरन्तर पुनरुत्थानको यात्रा तय गर्दै अहिले महामारीपूर्वको स्तरनजिक पुगेको छ,” उहाँले भन्नुभयो ।

पर्यटन अभिलेखअनुसार अप्रिल महिनामा सबैभन्दा धेरै अर्थात् ४४ हजार ७६३ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा आएका थिए । यो महिना ट्रेकिङका लागि अनुकूल मौसम भएकाले पर्यटक सङ्ख्या उच्च रहँदै आएको छ । यसको विपरीत जनवरी महिनामा सबैभन्दा कम नौ हजार ३५९ जना मात्र पर्यटक आएका थिए ।

सन् १९८६ देखि सञ्चालनमा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालकै पहिलो र सबैभन्दा ठुलो संरक्षित क्षेत्र हो, जसले मनाङ, कास्की, लमजुङ र म्याग्दी जिल्लाका भूभाग समेट्छ । अन्नपूर्ण र धौलागिरी हिमालको दृश्यावलोकन, घोरेपानी–पुनहिल, अन्नपूर्ण बेसक्याम्प, तातोपानी, मनाङ, मुस्ताङ, मार्दी हिमालजस्ता प्रसिद्ध ट्रेकिङ मार्गहरूले यहाँको आकर्षण थप बढाएका छन् ।

सांस्कृतिक र जैविक विविधता पनि अन्नपूर्णको विशेषता हो । स्थानीय गुरुङ, थकाली, मागर र अन्य जातीय समुदायका बस्ती, तिनको परम्परा, खानपान र अतिथिपरायणताले पर्यटकलाई फरक अनुभव प्रदान गर्छ ।

पर्यटक आगमनमा भएको वृद्धिले स्थानीय होटल व्यवसाय, ट्रेकिङ एजेन्ट, गाइड, पोर्टर तथा यातायात व्यवसायमा प्रत्यक्ष लाभ पुगेको छ । पोखरादेखि जोमसोम, मनाङ हुँदै मुस्ताङसम्मका क्षेत्रमा हाल आन्तरिक र विदेशी पर्यटकको आवागमन बाक्लिएको स्थानीय व्यवसायीले बताएका छन् ।

एसीएपीले पर्यटक आवागमन सन्तुलन र वातावरणीय प्रभाव न्यून पार्ने उद्देश्यले दिगो पर्यटन रणनीति अघि सारेको जनाएको छ ।

अन्नपूर्ण क्षेत्रमा हाल देखिएको पर्यटक वृद्धि नेपाल पर्यटन पुनरुत्थानको सशक्त सूचकका रूपमा रहेको विज्ञहरूले बताएका छन् । यदि यही दर कायम रह्यो भने यो वर्षको अन्त्यसम्म अन्नपूर्ण क्षेत्रमा आगन्तुक सङ्ख्या तीन लाख नाघ्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend