काठमाडौँ, कात्तिक १५ : हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिँदै छ ।
कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । बूढानीलकण्ठ नारायणस्थान मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेला लागेको छ । हरिबोधिनी एकादशीका दिन बूढानीलकण्ठ मन्दिरमा आई पूजा, आराधना गरेमा काठमाडौँ उपत्यकामा रहेका चारवटै नारायणको पूजा, आराधना एवं दर्शन गरे सरहको फल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।
