काठमाडौं, असोज १८ : राष्ट्रिय विपद् जोखिम न्यूनिकराण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गर्दै बढ्दो वर्षा र त्यसले निम्त्याउने बाढी, पहिरोको प्रकोपलाई ध्यानमा राखेर लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पूर्णरूपमा बन्द गरिएको जानकारी दिएको छ ।
‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुन सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्विनी प्रदेशका सवै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने बाहिरिने सवारी आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं भित्रिने बाहिरिने सवारी साधन नचलाउन, सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नुहुन अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ।
