काठमाडौं असोज १८: देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र मधेस प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्वदिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
२४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ । २४ घण्टामा कुनै स्थानमा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे अति भारी वर्षा भनिने विभागले बताएको छ । २४ घण्टामा १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा र १० देखि ५० मिलिमिटरसम्म पानी परे मध्यम वर्षा भनिन्छ ।
