Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

असोज १८ देखि २० गतेसम्म अति भारी वर्षा हुन सक्ने : सकभर यात्रा नगर्न चितवन, धादिङ, तनहुँ जिल्ला प्रशासनहरुबाट सूचना जारी


सूचना कुण्ड
असोज १८ देखि २० गतेसम्म अति भारी वर्षा हुन सक्ने : सकभर यात्रा नगर्न चितवन, धादिङ, तनहुँ जिल्ला प्रशासनहरुबाट सूचना जारी

काठमाडौं, असोज १७: जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। सोही कारण विभिन्न जिल्ला प्रशासनले संयमित भएर यात्रा गर्न अनुरोध गरेका छन्। 

बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन्।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने बताएका छन्। 'बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। त्यस्तै, काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन्।

चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूले नागरिकलाई राति यात्रा नगर्न अनुरोध गर्दै सूचना निकालेका छन् । सूचनामा उल्लेख भएअनुसार पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढु‌ङ्गा एवं नारायणगढ मुग्लिन सडकको विभिन्न स्थानहरुमा निरन्तर पहिरो गई समय–समयमा सवारी आवागमन अवरुद्ध हुँदै आइरहेको छ । तीनवटै जिल्लाको संयुक्त पहल एवं समन्वयमा पहिरो हटाई सवारी आवागमन सुचारु गरिएको छ ।

तथापि, जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेको र उक्त पूर्वानुमान बमोजिन वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चितवन, धादिङ र तनहुँमा पनि रातिमा यात्रा नगर्न अपिल गरिएको हो ।

भारी वर्षा हुने पूर्वानुमान गरिएको समय असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न र यात्रा गर्नु पर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्न भनिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend