काठमाडौं, असोज १० : काठमाडौं उपत्यका मेयर्स फोरमले हालै जेनजी आन्दोलनको क्रममा भएको अराजक गतिविधिबाट क्षति भएका सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा पहल कदमी शुरु गरेको छ ।
मेयर्स फोरमको बैठकले आन्दोलनको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालय, नगरपालिकाका भवनहरू लगायतका संरचनामा गरिएको तोडफोड र आगजनीप्रति घोर निन्दा गर्दै सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
फोरमका अध्यक्ष एवं ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार फोरमले सिंहदरबार पुनर्निर्माणका लागि पाँच करोड, उपत्यका प्रहरी कार्यालयलाई काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था सुदृढ गर्न एक करोड रूपैयाँ र तोडफोडमा परेका प्रहरी चौकी तथा नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन थप सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
जेनजीको नाममा भएको आन्दोलनमा अराजकता समूहले गरेको हिंसात्मक र नेपालको अस्मिता, लोकतन्त्र र सार्वभौम सत्तामा नै धक्का पुग्नेगरी आगजनी तथा तोडफोड गर्ने कार्यबाट देश मात्र आक्रान्त नभई अन्तर्राष्ट्रिय जगतमा समेत बद्नामी र बेइज्जती भएको फोरमले बताएको छ।
यस्ता अराजक क्रियाकलापमा संलग्नहरूमाथि छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै कानुनी कठघरामा ल्याउन वर्तमान सरकारलाई फोरमले आग्रह गरेको छ ।
