Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण :म रहरले प्रधानमन्त्री हुन आएको होइन


सूचना कुण्ड
नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण :म रहरले प्रधानमन्त्री हुन आएको होइन

काठमाडौँ, भदौ २९:  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुभएको हो ।  

त्यसअघि उहाँले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पणसमेत गर्नुभएको थियो । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । पदभार ग्रहणपछि आयोजित समारोहमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुभएकाका मुख्य बुँदाहरु ः 

हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ। भौतिक भवनको क्षतिले केही हुँदैन बनाउन पनि सकिन्छ। तर ती रेकर्डहरू, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेका छौं।

  • सुरक्षाकर्मीहरूको पनि देहावसान भयो। सम्पूर्ण प्रहरी कार्यालयका सवारी साधनहरू अर्को खरिद गर्नुपर्ने अवस्था छ।
  • आगजनीका कुरा गर्दा, मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानी छानी प्रहार भएको छ। प्रहरीका चौकी, थाना जले। अदालतका फाइलहरू, सिंहदरबारका फाइलहरू नष्ट भए।
  • यो देखेर लाज पनि लागेको छ। नेपाली भएर यो काम गरेको हो भने नेपाली कसरी भन्ने?
  • नियोजित रूपमा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ। अनुसन्धान हुन बाँकी छ।
  • प्रहार र नोक्सान गर्नेहरूको खोजतलास र कारबाही हुन्छ।
  • म रहरले प्रधानमन्त्री हुन आएको होइन। सबैबाट आवाज उठ्यो र म विवश भएँ। रसस्वादन गर्न आएको होइन। उमेर पनि होइन।
  • कुनै हालतमा ६ महिनाभन्दा बढी बस्दैनौं। आफ्नो जिम्मेवारी पूरा गरेर ६ महिनापछि नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट गरेका छौं। मलाई सहयोग गर्नुस्।
  • कामचलाउ भए पनि प्रहरी कार्यालय बनाऔं।
  • हाम्रो लागि अपराधीहरूले गरेको कृत्य हामीमाथिको चुनौती हो। मुलुकविरूद्ध गरेको चुनौती हो। सबै मिलेर एकताको भावना राखौं।
  • मुलुकमा जुन 'मुभमेन्ट' अचम्म भयो, अन्त कहीँ भएको छैन। २७ घन्टाको आन्दोलनमा कायापलट भयो।
  • यो समयले मागेको भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानता हो।
  • क्षतिहरूको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउनुपर्छ।
  • २३ गते मृत्युवरण गरेकाहरूको परिवार भेटेँ। फर्केर मुख्यसचिवसँग रातिसम्म छलफल गर्‍यौं। उहाँहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेँ। सिस्टमले १० लाख रूपैयाँको दिने सीमा राखेको छ। त्यो १० लाख दिने निर्णय गर्‍यौं।
  • घाइतेहरूलाई पनि उपचार र राहत लागू गरेका छौं। अरू विषयमा मुख्य सचिवहरूले विचार गर्नुहुन्छ। मृतकका परिवारहरू काठमाडौंमै हुनुहुन्छ। उहाँहरू बसेको, खाएको खर्च हेरिदिने, शवलाई उनीहरूको स्थानीय ठेगानामा पुर्‍याइदिने व्यवस्था गरिनेछ। अपांगता भए पछिसम्म उपचार गर्ने व्यवस्था हुन्छ।
  • निजी क्षेत्रबाट पनि केही गर्न सकिन्छ भनेर साथीहरूले प्रयत्न गरिरहेका छन्। सबै पक्ष मिलेर नेपाल बनाउनुपर्छ।
  • सरकार अहिले विषम आर्थिक परिस्थितिमा छ। जनता पनि विषम परिस्थितिमा छन्। के गर्न सक्छौं, विचार गरेर निर्माणमा लाग्नेछौं।
  • २४ गते आतंकजस्तो मच्चाइयो। व्यक्तिको सम्पत्तिको, उद्योग, व्यापार नष्ट गर्ने काम भएको छ।
  • कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्। उनीहरूलाई कसरी उठाउने भन्ने हामी सोच्छौं। बैंकको सफ्ट लोनहरू दिएर हुन्छ कि, कसरी हुन्छ गर्नेछौं।
  • सटर खोलेकाहरू पनि लुटिएका छन्। उठ्ने कोशिस गर्छौं भन्नुभएको छ।
  • आन्तरिक बल देखाउनुभएकोमा धन्यवाद। राज्यको तर्फबाट कुन किसिमबाट सहयोग गर्ने हो विचार गर्नेछौं।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend