काठमाडौं, भदौ १९ : काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै सूचना जारी गरी छिमेकीलाई समस्या पर्ने गरी ध्वनि प्रदूषण हुने खालका गतिविधि नगर्न आग्रह गरेको छ । ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
उक्त सूचनामा पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको छ ।
राति भएपछि वा बिहान सबेरै लाउड स्पिकरमा संगीत नबजाउन, पार्टी वा जमघट गरी धेरै ठूलो आवाज निकाली छिमेकीलाई बाधा नपार्न प्रहरीको अनुरोध छ ।
साथै फोन कल गर्दा आवाज कम गर्न, हेडफोन प्रयोग गर्न, प्रेसर कुकरमा सिट्ठी नबजाउन, भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगर्न, ठूलो स्वरमा खोक्ने, खकार्ने नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
