Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वैदेशिक रोजगारमा महिला : गत आवमा ९४ हजार ४५५ विदेश गए


सूचना कुण्ड
वैदेशिक रोजगारमा महिला : गत आवमा  ९४ हजार ४५५  विदेश गए

काठमाडौँ, भदौ १८ : वैदेशिक रोजगारीका लागि विदेश जाने महिला बर्सेनि बढेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७७/७८ देखि वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढ्दै गएको हो । विभागका अनुसार आव २०८०/८१ मा ८० हजार १७२ र आव २०८१/८२ मा ९४ हजार ४५५ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । 

यस्तै आव २०७९/८० मा ७२ हजार १३४, आव २०७८/७९ मा ४९ हजार १२८ र आव २०७७/७८ मा ११ हजार ४५६ महिलाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिला बढेको देखिएको हो । 

पाँच वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या आठ प्रतिशतले वृद्धि भएर गत वर्ष ११.२५ प्रतिशत पुगेको छ । पाँच वर्षअघि विदेश जाने नेपालीमध्ये पाँच प्रतिशत मात्र महिलाले श्रम स्वीकृति लिएका थिए । बिदेसिने महिलाको सङ्ख्या प्रतिवर्ष एक/एक प्रतिशतका दरले वृद्धि भएको देखिन्छ । कोभिड सङ्क्रमणअघि २०७४/७५ मा ३२ हजार ९६४ महिलाले विदेश जान श्रम स्वीकृति लिएकोमा गत आव २०८१/८२ मा साढे ९४ हजार पुगेको छ ।

तथापि यो सङ्ख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिई भारत, बङ्गलादेशको बाटो हुँदै खाडी र मलेसियामा घरेलु काम जानेको सङ्ख्या योभन्दा धेरै भएको अनुमान छ । सरकारले औपचारिक रूपमा खाडी र मलेसियामा विगत नौ वर्षदेखि घरेलु श्रमिकमा जाने महिलालाई प्रतिबन्ध लगाएको छ । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि रोकिएको थियो । 

विभागका अनुसार अछिल्लो आवमा सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएकोमा ८० हजार १७२ जना (१०.८० प्रतिशत) महिलाले श्रम स्वीकृति लिएका थिए भने गत आवमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएकोमा ९४ हजार ४५५ (११.२५ प्रतिशत) महिला थिए । विभागले सार्वजनिक गरेको प्रतिवेदनमा खाडी र मलेसियामा घरेलु कामबाहेकका उत्पादन उद्योग, डिपार्टमेन्ट स्टोरमा प्याकेजिङ, होटेलमा जाने महिलाको सङ्ख्या बढेको देखिन्छ भने पछिल्लो समयमा इजरायल, दक्षिण कोरिया, जोर्डन, बेलायत, माल्टालगायतका देशमा नर्स, केयरगिभर, कृषि उत्पादन, घरेलु श्रमिक र गार्मेन्टमा काम गर्न जाने गरेका छन् । विगत पाँच वर्षको तुलनामा गत आव २०८१/८२ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारी विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले रोजगारीका अवसर बढेसँगै संयुक्त अरब इमिरेटस् (युएई), कतार, कुवेत, साइप्रस, मलेसिया उत्पादन उद्योग तथा सरकारी तवरबाट कोरिया तथा इजरायल जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको बताउनुभयो । 

वैदेशिक रोजगारीका लागि सयभन्दा बढी देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेको देखिन्छ । त्यसमा पनि युएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । संस्थागत (म्यानपावर) बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात तीन प्रतिशतभन्दा कम छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend