Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट पाउन मुस्किल


सूचना कुण्ड
दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट पाउन मुस्किल

काठमाडौँ, भदौ १४ :  नेपालीको महान् चाड दसैँलाई लक्षित आन्तरिकतर्फको हवाई टिकटको अग्रिम बुकिङ र टिकटको मूल्य बढ्दै गएको छ । दसैँमा काठमाडौँ छाडेर जानेले हवाई टिकट बुकिङ तीव्र पारेसँगै दुर्गमसहितका गन्तव्यतर्फको टिकट पाउन मुस्किल बनिसकेको छ । सुगमका गन्तव्यको टिकट शुल्कसमेत झन्डै दोब्बर पुगिसकेको छ । 

वायुसेवा कम्पनीका अनुसार अहिले विभिन्न गन्तव्यका ४० प्रतिशत हवाई टिकट ‘बुक’ भइसकेका छन् । तुम्लिङटार, लुक्ला, सिमकोट, डोल्पा, रुम्जाटार, भोजपुर, खानीडाँडालगायतका दुर्गमका गन्तव्यमा महँगो शुल्क तिरेरसमेत टिकट पाउन मुस्किल भइसकेको छ ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले भन्नुभयो, “दसैँ आउन करिब एक महिना बाँकी हुँदै काठमाडौँबाट सुगमतर्फका ४० प्रतिशत उडान बुक भइसकेका छन् । दुर्गमतर्फ तुम्लिङटारमा सबै हवाई टिकट बिक्री भइसकेका छन् ।” देशविदेशबाट विभिन्न गन्तव्यतर्फ हवाई टिकटको बुकिङ बढेसँगै टिकटको मूल्यसमेत बढ्दै गएको छ । अग्रिम टिकट लिने हवाई यात्रुको सङ्ख्या बढेसँगै सिटको उपलब्धता कम र टिकटको मूल्य बढ्दै जाने उहाँले जानकारी दिनुभयो ।

दुर्गमका विमानस्थलमा उडान गर्ने जहाज कम हुँदा हवाई टिकट पाउन मुस्किल हुने गरेको छ । वायुसेवा कम्पनीले सुगम भेगमा पर्याप्त मात्रामा ठुला जहाज थपे पनि भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यमा यात्रा गर्न यात्रुले बर्सेनि महँगो हवाई भाडा तिर्न बाध्य हुँदै आएका छन् ।  

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले दसैँलक्षित यात्राका लागि करिब ५० प्रतिशत यात्रुले टिकट होल्ड र बुक गरिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँलाई मात्र भनेर खुलाउने गरिएको छैन । वायुसेवा कम्पनीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकटको माथिल्लो दर तोकिदिएको हुन्छ । उक्त दरभित्र रहेर कम्पनीले विभिन्न दरमा टिकट राखेका हुन्छन् । सामान्यतया एक/दुई महिनाअगाडि नै टिकट लिँदा सस्तो दरको टिकट हात पर्ने भए पनि त्यसपछि भने महँगो दरको टिकट मात्र बाँकी रहन्छ । 

यात्रुले अन्य समयमा हवाई कम्पनीका प्रवर्धनात्मक उडान दरमा यात्रा गर्ने गरेकाले टिकटको मूल्य सस्तो हुने भए पनि चाडबाडको समयमा भने यात्रु उपलब्धता बढ्दै जाँदा टिकटको मूल्य मागका आधारमा बढ्दै जाने उहाँले बताउनुभयो ।

अन्य बेला दुवैतर्फ यात्रु समान हुने भए पनि दसैँका बेला हवाई भाडा बढ्नुमा काठमाडौँबाट बाहिर जाने यात्रु बढी हुने र रित्तो जहाज फर्काउनुपर्ने अवस्थाका कारण हवाई भाडा महँगो हुने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हवाई टिकटको मूल्य वायुसेवाको लागत, वायुसेवा सञ्चालन, इन्धनको मूल्य, इन्जिन वेलको मूल्य, प्रशासनिक खर्चलगायतका आधारमा हुने गरेको बताउँदै वायुसेवा कम्पनीले हवाई भाडा प्राधिकरणबाट स्वीकृत गरेको भाडा दरलाई सस्तोदेखि महँगोसम्म तय गरेर राख्नसक्ने बताउनु भयो ।

सरकारले २०७३ सालदेखि लागु गरेको हवाई भाडाको न्यूनतम र उच्चतम सीमाभित्र रहेर वायुसेवा कम्पनीले आफ्नो व्यावसायिक रणनीतिबमोजिम भाडा दरलाई विभिन्न वर्गमा वर्गीकरण गरी भाडा दर निर्धारण गर्न सक्ने भएपनि तोकिएभन्दा बढी शुल्क लिएको भेटिए कारवाही हुने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend