Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चितवनका कुखुरामा देखियो रक्तअल्पता


सूचना कुण्ड
चितवनका कुखुरामा देखियो रक्तअल्पता

नारायणगढ, भदौ ४ :  चितवनमा कुखुरामा रक्तअल्पता गराउने ‘चिकेन एनेमिया’ भाइरस देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले केही कुखुरामा गरेको नमुना परीक्षणमा यो रोग देखिएपछि अहिले प्रयोगशालामा आउने सबै कुखुरामा यो रोगको परीक्षण सुरु गरिएको छ । 

प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार तीन महिनाको अवधिमा प्रयोगशालाले परीक्षण गरेका ९२ वटा नमुनामध्ये ३१ वटामा ‘चिकेन एनेमिया’ देखिएको हो । 

डा. श्रेष्ठका अनुसार नेपालका कुखुरामा यो रोगको अहिलेसम्म परीक्षण गरिएको थिएन । यो रोगले भन्दा पनि यो रोग लागेका कुखुरा अन्य रोगसँग प्रतिरोध गर्न नसकेर मर्छन्, सुरुमा नमुनाका रूपमा प्रयोगशाला आफैँले परीक्षण सुरु गर्दा केहीमा यो रोग देखिएपछि प्रयोग शालामा आउने प्रायः नमुनामा यो रोगको परीक्षण गरिए हो । 

पछिल्लो समय चितवनमा कुखुराको मृत्युदर पनि बढेको छ । कुखुराविज्ञ एवं भेटेरिनरी काउन्सिलका पूर्वउपाध्यक्ष डा. सुविर सिंहका अनुसार अहिले चितवनमा ब्रोइलरमा १० देखि १६ प्रतिशतको मृत्युदर रहेको छ । कुखुराको मृत्युदर चारदेखि छ प्रतिशतलाई प्राकृतिक मानिन्छ । लेयर्स कुखुराका हकमा यो प्राकृतिक रूपमा भन्दा बढी नभएको उहाँको भनाइ छ । 

“चितवनमा बोइलर कुखुराको मृत्युदर बढी नै छ । मृत्युका कारण यकिन अध्ययन हुन सकेको छैन,” उहाँले थप्नुभयो, “राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले अहिले ‘चिकेन एनेमिया’ रोगको सङ्क्रमण रहेको तथ्य सार्वजनिक गरेको छ । यही कारणले त होइन तर पनि सामान्यभन्दा सामान्य रोगले पनि कुखुरा मरिरहेका छन् कि भन्ने अध्ययन हुन जरुरी छ ।” चितवनमा अहिले बढी मात्रामा कुखुरा एच नाइन, गम्बारो, रानीखेत जस्ता रोगले मरिरहेका पनि उहाँले बताउनुभयो । 

प्रयोगशालाले एक वर्षमा गरेको दुई हजार पाँच सय किसानका सात हजार कुखुराको पोस्टमार्टममा लो प्याथोनिक एभिएन इन्फ्लुन्जा (एच नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा देखिएको थियो । सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएकामा इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको थियो । 

‘चिकेन एनेमिया’ लागेका कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने विज्ञले औँल्याएका छन् । यस रोगले कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउने पनि डा. श्रेष्ठले जानकारी दिनुभयो । 

कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने हुन्छ । विज्ञका अनुसार जैविक सुरक्षाको अभावमा पनि चितवनमा नयाँ नया रोगको सङ्क्रमण कुखुरामा देखिएको छ । 

२०१७ साल पुस १७ गते बाराको परवानीपुरमा सेन्टर ह्याचरीको स्थापना भएसँगै नेपालमा व्यावसायिक कुखुरापालन सुरु भएको देखिन्छ । कुखुरापालन क्षेत्रले नेपालमा चार लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । एक खर्ब ६० अर्ब रुपियाँभन्दा बढी लगानी रहेको कुखुरापालन क्षेत्रमा देखिएको चिकेन एनेमिया रोगले अहिले किसानमा चिन्ता थपिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिवप्रसाद बरालले नेपालमा अहिले दैनिक आठ लाख केजी ब्रोइलरको मासु र ३२ लाख अन्डा उत्पादन भइरहेको जानकारी दिनुहुन्छ । यसका लागि तीन हजार ब्रोइलर फार्ममा १५ लाख कुखुरा र सात सय फार्ममा ६० लाख लेयर्स कुखुरा पालिएका छन् । यसमा चितवनको हिस्सा २० प्रतिशत हो । 

कार्यालयका अनुसार २०५७/५८ सालताका नेपालमा ब्रोइलर कुखुरापालनको २१ हजार ९५६ फार्म रहेकामा २० हजार ४८३ फार्म चितवनकै थिए । जसमा पाँच करोड २६ लाख ६६ हजार २९ ब्रोइलर कुखुरा पालिएका थिए । ब्रोइलर मासुका लागि पालिने कुखुरा हुन् । त्यसबेला नेपालमा उत्पादन हुने कुखुराको मासुमध्ये ६० प्रतिशत चितवनमा उत्पादन हुने गर्दथ्यो । 

पूर्वउपाध्यक्ष डा. सुविर सिंह भन्नुहुन्छ, “कुखुराको मासु र अन्डा उत्पादनमा देशकै अग्रणी जिल्ला चितवनमा अहिले जुन प्रकारले उत्पादन घट्दै गएको छ, यसले व्यवसायमा पनि ठुलो असर गरेको छ । कुखुरापालनमा चितवनको साख पुनः फर्काउने हो भने ‘चिकेन एनेमिया’ जस्ता रोगको सङ्क्रमण रोक्ने गरी दीर्घकालीन योजना अघि सार्नु पर्छ ।”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend