Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वाणिज्य बैङ्कहरूले ७१ अर्ब रुपियाँभन्दा बढी नाफा कमाए


सूचना कुण्ड
वाणिज्य बैङ्कहरूले ७१ अर्ब रुपियाँभन्दा बढी नाफा कमाए

काठमाडौँ, भदौ ३ : नियामक निकायबाट नीतिगत सहजीकरण र सहुलियत पाएका वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्ष २०८१/८२ मा ७१ अर्ब रुपियाँभन्दा बढी नाफा कमाएका छन् ।  

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कले समीक्षा अवधिमा कुल ७१ अर्ब ५१ करोड आठ लाख रुपियाँ नाफा आर्जन गरेका हुन् । अघिल्लो आव २०८०/८१ मा बैङ्कहरूले ४९ अर्ब ८७ करोड ११ लाख रुपियाँ नाफा आर्जन गरेका थिए । एक वर्षमै बैङ्कहरूको नाफा २१ अर्ब रुपियाँले बढेको हो । 

खराब कर्जा दरलाई घटाएर भविष्यमा हुन सक्ने जोखिमका लागि छुट्याइएको रकम पनि राइट ब्याकमार्फत नाफामा देखाउन पाउने व्यवस्थाले बैङ्कको नाफा बढेको हो । नाफा बढ्दा लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमतामा पनि उल्लेख्य सुधार भएको छ । 

वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १६ वटा वाणिज्य बैङ्कले नाफा बढाएका छन् भने चार वटाले घटाएका छन् । अघिल्ला वर्ष जस्तै समीक्षा वर्षमा पनि सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैङ्क नै रहेको छ । नाफा वृद्धिदरको हिसाबले कुमारी बैङ्क अगाडि आएको छ । गत आवमा नबिल बैङ्कले सात अर्ब १२ करोड ७५ लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष छ अर्ब १९ करोड ७१ लाख रुपियाँ नाफा कमाएको बैङ्कले अघिल्लो आवको तुलनामा १५.०१ प्रतिशतले बढाएको हो ।

वाणिज्य बैङ्कहरूको लाभांश क्षमतामा पनि बढोत्तरी आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बैङ्कहरू ३८ प्रतिशतसम्म लाभांश दिन सक्ने हैसियत बनाएका छन् ।

लाभांश क्षमताका आधारमा एभरेस्ट बैङ्क पहिलो स्थानमा रहेको छ । एभरेस्टको वितरणयोग्य मुनाफा चार अर्ब ९५ करोड रुपियाँ रहेको छ । जसका आधारमा बैङ्कको लाभांश क्षमता ३८.२७ प्रतिशत देखिएको छ । समीक्षा वर्षमा नेपाल बैङ्क, कुमारी बैङ्क, हिमालयन बैङ्क र एनआइसी एसिया बैङ्क भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । नबिल बैङ्कको लाभांश क्षमता १७.६४ प्रतिशत, कृषि विकास बैङ्कको १८.४२ प्रतिशत, सानिमा बैङ्कको २०.४७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १९.८५ प्रतिशत, ग्लोबल आइएमईको १४.११ प्रतिशत र एनएमबी बैङ्कको १०.४१ प्रतिशत रहेको छ ।

खराब कर्जा सात प्रतिशतमाथि

समिक्षा अवधिमा वाणिज्य बैङ्कहरूको खराब कर्जा दर पनि उच्च देखिएको छ । सर्वाधिक हिमालयन बैङ्कको खराब कर्जा ७.२८ प्रतिशत पुगेको छ । नाफाको वृद्धिदरमा छलाङ मारेको कुमारी बैङ्कको ६.४२ प्रतिशत खराब कर्जा रहेको छ भने एनआइसी एसिया बैङ्कको ६.२८ प्रतिशत रहेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको ५.८५ प्रतिशत, प्राइम बैङ्कको ५.५६ प्रतिशत, सिटिजन्स बैङ्कको ४.९४ प्रतिशत, नेपाल बैङ्कको ४.४७ प्रतिशत, नबिल बैङ्कको ४.२० प्रतिशत र लक्ष्मी सनराइज बैङ्कको ४.१२ प्रतिशत खराब कर्जा देखिएको छ । त्यस्तै एनएमबी बैङ्कको ३.७२ प्रतिशत, कृषि विकास बैङ्कको ३.४० प्रतिशत, नेपाल एसबिआई बैङ्कको ३.३५ प्रतिशत, माछापुच्छ«े बैङ्कको ३.१० प्रतिशत, सानिमा बैङ्कको ३.०१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको २.७५ प्रतिशत, सिद्धार्थ बैङ्कको २.६२ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको २.४५ प्रतिशत खराब कर्जा दर रहेको छ । सबैभन्दा न्यून भने एभरेस्ट बैङ्कको ०.३८ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend