काठमाडौं, साउन २९ : आज बसेको मन्त्रीपरिषदको बैठकले नागढुङ्गा सुरुङमार्ग उपभोग दस्तुर निर्धारण गरेको छ । स्वीकृत उपभोग दस्तुर अनुसार कार, भ्यानलाई प्रवेशमा ६५ र बाहिरिंदा ६० रुपैया निर्धारण गरिएको छ । मिनिबस र मिनिट्रकलाई प्रतिपटक प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरी स्वीकृत गरिएको छ । बस र ट्रकलाई काठमाडौं प्रवेशमा २६० र बाहिरिंदा २०० रुपैया निर्धारण गरिएको छ ।
यस्तै भारी सवारीको हकमा भने काठमाडौँ प्रवेशमा ६०० र बाहिरिँदा २५० दस्तुर तोकिएको छ ।
सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीका अनुसार संकलित दस्तुर सडक बोर्डको खातामा जम्मा हुने र सोही सुरुङमार्गको नियमित मर्मतसम्भार, सञ्चालन र व्यवस्थापनमा खर्च गरिने छ तर पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र उक्त संकलित शुल्क खर्च हुने उनको भनाइ छ ।
करिब ९३ प्रतिशत भौतिक प्रगति भएको यो सुरुङमार्ग आगामी माघभित्र सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।
२.६ किलोमिटर लम्बाइ रहेको यो सुरुङमार्ग प्रयोग गर्दा काठमाडौँदेखि सिस्नेखोलासम्म ८ किलोमिटर सडक छोटिन्छ ।
स्वीकृत भइसकेको सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिकाअनुसार के–कस्ता सवारी चलाउन पाइने/नपाइनेलगायत मापदण्ड उल्लेख गरिएको छ । पैदलयात्री, दुईपाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन प्रवेशमा भने रोक लगाइएको छ नन–मोटराइज्ड सवारीसाधन र जोखिमयुक्त मालसामान बोकेका डिजल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्ज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीसाधनले सुरुङ मार्गमा ओहोरदोहोर गर्न पाउँदैनन् ।
नेपाल रोड स्ट्यान्डर्ड (एनआरएस) २०७० ले तोकेको १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.७५ मिटर उचाइभन्दा अधिक नाप भएका सवारीसाधन, मालबाहक सवारीको भारवहन नियमन निर्देशिका, २०७४ र भारवहन सम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारी साधन प्रवेश निषेध गरिएको छ ।
