धादिङ, साउन २५ : लायन्स क्लब अफ धादिङ हाइटको पहलमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गजुरी गाउँपालिका–६ आदमघाटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण गरी जलवायु परिवर्तनका कारणले हुनसक्ने संभावित क्षति कम गर्न समुदाय स्तरमा नै प्रकृतिमा आधारित समाधानका उपायहरुलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, गाउँपालिकाका प्रतिनिधि, समाजसेवी, आदमघाटका स्थानीय बासिन्दा, सामुदायिक प्रहरी तथा सशस्त्र प्रहरी बल (APF)को उल्लेखनीय सहभागिता रहेको थियो।
वृक्षारोपण कार्यक्रममा सहभागीहरूले विभिन्न प्रजातिका बिरुवा रोप्दै समुदायको अगुवाईमा गरिने वातावरण संरक्षणका गतिविधिहरुले जलवायु परिवर्तनका कारणले भएको तापमान वृद्धि, अतिवर्षाको अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने संभावित क्षति कम गर्न सहयोग पु¥याउने कुरामा जोड दिए । साथै प्राकृतिक स्रोत–साधनको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सबैलाई सक्रिय हुन आह्वान गरे।
कार्यक्रममा उपस्थित सराकारवाला निकायहरुले वृक्षारोपणलाई केवल एक दिनको अभियान नभई निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण सहभागिताले गाउँमा हरियाली विस्तार गर्ने मात्र नभई आगामी पुस्ताका लागि स्वस्थ वातावरणको सन्देश पनि दिएको आयोजकहरूले बताएका छन्। कार्यक्रममा सहभागी समुदायले रोपिएका बिरुवाको संरक्षणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
