Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शिशुलाई आमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने 


सूचना कुण्ड
शिशुलाई आमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने 

काठमाडौँ, साउन १९ :  सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गर्नेको सङ्ख्या बढाएर ९० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिएको छ । तर सरकारी तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएको देखाएको छ। 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस)२०२२ को तथ्याङ्कले नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत रहेको देखाएको छ । यो सङ्ख्या सन् २०१६ मा ६६, सन् २०११ मा ७० प्रतिशत थियो । स्तनपानको फाइदाको बारेमा जानकार नहुँदा स्तनपान गराउने सङ्ख्या घट्दै गएको बालरोग विशेषज्ञ डा.कल्पना उपाध्याय सुवेदीको भनाइ छ  ।  

डा. सुवेदी भन्नुहुन्छ,“स्तनपानसम्बन्धी जनचेतनाको अभाव र पछिल्लो समय कामकाजी महिलाको सङ्ख्या बढ्दै गएकोले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको हुन सक्छ ।” 

नेपाल पेरियाट्रिक सोसाइटीका अध्यक्ष डा. अरुणकुमार न्यौपानेले स्तनपानलाई सरल सहज र सम्मानजनक बनाउन सकेमात्र स्तनपान गराउनेको सङ्ख्या बढाउन सकिने बताउनुहुन्छ ।

स्तनपन गराउने आमामा मानसिक तनाव, परिवार र सामाजिक दबाबले गर्दा स्तनपान प्रकियामा कठिनाइ आएको हुनसक्ने डा.न्यौपानेको भनाइ छ।    

नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढाउन मातृत्वमैत्री कार्यक्षेत्र जरुरत रहेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ,“स्तनपान गराउने आमालाई सबैको साथ सहयोगको जरुरत पर्छ ।  आमालाई समयमा खाना, आराम र सहयोग उपलब्ध गराउनुपर्छ । कार्यलयमा पनि स्तनपान गराउने वातवरण सिर्जना गर्नुपर्छ । ” 

के हो पूर्ण स्तनपान भनेको ?

शिशु जन्मिएदेखि ६ महिनासम्म स्तनपान गराउनुलाई पूर्ण स्तनपान भनिन्छ । बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दुध बाहेक अरू कुनै पनि खान आवश्यक नपर्ने चिकित्सक बताउँछन् । 

बच्चालाई छ महिना पूरा भएपछि अन्य पोषिलो खानेकुराका साथै दुई वर्ष वा सोभन्दा बढी उमेरसम्म लगातार स्तनपान गराउन चिकित्सकको सुझाव छ ।  

आमाको दुधमा पानी र खनिज जस्ता तत्वहरू पाइने हुँदा शिशुको शारीरिक, मानसिक विकास गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने वरिष्ठ बालरोग विशेषज्ञ डा.सुवेदी बताउनुहुन्छ ।   

उहाँ भन्नुहुन्छ,“शिशुका लागि आमाको दुध कम खर्चिलो र पोसिलो खानेकुरा हो । स्तनपान गराउँदा आमासँगको आत्मीयता बढ्नुका साथै शिशुको मानसिक, बौद्धिक, शारीरिक विकास हुने गर्छ ।” 

गाईभैँसीको दुधमा बालबालिकालाई चाहिने पोषण तत्व बढी हुने हुँदा पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिने उहाँ बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ,“बच्चालाई चाहिने आवश्यक सम्पूर्ण पोषण तत्व आमाको दुधमा पाइन्छ । गाई भैँसीको दुधमा पाइने पोषण कुनैमा आवश्यकभन्दा बढी र कुनैमा आवश्यकभन्दा कम हुने गर्छ ।” 

स्तनपानका फाइदा 

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा.शैलेन्द्रवीर कर्माचार्य बच्चा जन्मिएको एक घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ,“आमाको दुध शिशुका लागि अमृतसमान हुन्छ । यसले शिशुको जीवन रक्षा गर्छ। बिगौती दुधले शिशुको रोगसँग लड्नसक्ने क्षमतालाई बढाउन मद्दत गर्छ । ” 

आमाको बिगौती दुधले खोपको काम गर्ने डा.कर्माचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भर्खर जन्मिएका शिशुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । स्तनपान गराउँदा दुधको माध्यमबाट आमाको शरीरमा बनेको एन्टीबडी बच्चाको शरीरमा जाने हुँदा बिगौती दुधले खोपको काम गर्छ ।” 

स्तनपान गराउँदा आमालाई पनि फाइदा 

स्तनपान गराउनु आमा र बच्चा दुवैका लागि फाइदाजनक हुन्छ । स्तनपान गराउँदा बच्चा र आमाको सम्बन्ध सुमधुर हुने गर्छ । शिशु जन्मनसाथ दुध चुसाउँदा साल छिटै बाहिर निस्कन्ने उहाँ बताउनुुहन्छ । उहाँका अनुसार स्तनपान गराउँदा आमाको रत्तश्राव कम हुने गर्छ । 

उहाँभन्नुहुन्छ,“शिशु दुध चुस्दा पाठेघर खुम्चिन्छ । जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।” 

 उहाँका अनुसार स्तनपान गराउनेमा स्तन र पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम गर्छ । आमामा मुटुरोग, कोलेस्टोरल लगायतका दीर्घरोग लाग्ने सम्भावना कम भएकाे उहाँ बताउनुहुन्छ ।  स्तनपान गराउने आमाको मानसिक स्वास्थ्य पनि राम्रो हुने डा.कर्माचार्यको भनाइ छ । 

दीर्घरोग लाग्ने सम्भावना कम 

स्तनपानले बाल मृत्युदर पनि घटाउन मद्दत गर्छ । ६ महिनासम्म पूर्ण स्तनपान गराउँदा निमोनिया, झाडापखाला, कान, छाला, पेट तथा श्वासप्रश्वासका सङ्क्रमण रोगसँग लड्न सक्ने क्षमता बढ्ने गर्छ । पूर्ण स्तनपान गरेका बच्चा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुने गर्छन् । पूर्ण स्तनपान गरेका बच्चामा भविष्यमा दीर्घरोग लाग्ने सम्भावना कम हुने डा. कर्माचार्य बताउनुुहुन्छ । स्तनपान नगर्ने बच्चामा झाडापखाला निमोनिया हुने सम्भावना बढी हुने गर्छ ।

शिशुलाई आमाको दुध पुगे नपुगेको कसरी थाहा पाउने 

सुरुवाती चरणमा शिशुलाई पाँचदेखि १० एमएलमात्र दुध भए पुग्ने उहाँको भनाइ छ । 

उहाँ भन्नहुन्छ, “धेरै आमाले शिशुलाई दुध पुगेन भनेर विभिन्न फमुर्ला मिल्क दिन सुरु गर्नुहुन्छ । शिशुलाई सुरुवाती चरणमा पाँचदेखि १० एमएल दुध भए पुग्छ । २४ घण्टामा चार पाँच पटक पिसाब गरेको छ भने दुध पुगेको मान्न सकिन्छ” । 

स्तनपान गराउने आमालाई प्रशस्तमात्र पोषणयुक्त खानेकुराका साथै आरामको आवश्यक पर्ने हुँदा पोषिलो खानेकुरा खुवाउन उहाँको सुझाव छ । स्तनपान गराउने  आमालाई ज्वानोको झोलसहित थप पोसिलो खाना दाल, साग, गेडागुडी, मासु, दुध र अन्य तरल खानेकुरा बढी दिन उहाँको आग्रह छ । यस्ता खानेकुरामा भिटामिन, मिनिरल्स र फाइबर हुनेहुँदा आमाको स्वास्थ्य राम्रोहु नुका साथै दुधको गुणस्तर बढाउन सहयोग गर्छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend