Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुनको मूल्य बढ्दै : आयात परिणाम घट्दै


सूचना कुण्ड
सुनको मूल्य बढ्दै :  आयात परिणाम घट्दै

काठमाडौँ, साउन १६ : सुनको मूल्य बढ्दै गएपछि आयात परिणाम घट्दै गएको छ । निरन्तर मूल्य बढ्दा आन्तरिक बजारमा खपत घटेर आयातमा उल्लेख्य कमी आएको हो । सुनको आयात घट्दा सुनबाट सङ्कलन हुने राजस्वमा समेत कमी आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो पाँच वर्षमा सुनको मूल्य तोलामा एक लाख दुई हजार रुपियाँले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रतितोला ९२ हजार चार सय रुपियाँ रहेको सुनको मूल्य बढेर अहिले एक लाख ९३ हजार छ सय रुपियाँ पुगेको छ ।  महासङ्घका अनुसार एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा झन्डै ४९ हजार रुपियाँले बढेको छ ।

आन्तरिक कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुको कारणमा अमेरिकी केन्द्रीय बैङ्कको ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, केन्द्रीय बैङ्कहरूले सुन खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व र आर्थिक गतिविधिमा सुस्तता देखिनुलगायत रहेका छन् । 

भन्सार विभागका अनुसार आव २०७७/७८ मा तीन हजार ९२४ केजी सुन आयात भएकोमा गत आव २०८१/८२ मा घटेर एक हजार ३८९ केजीमा झरेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्य बढ्दा बजारमा सुनको माग न्यून हुँदा आयातमा समेत कमी आएको बताउनुभयो । 

“सामान्य अवस्थामा वार्षिक पाँच हजारदेखि सात हजार पाँच सय केजी सुन आयात हुने गरेको थियो,” उहाँले भन्नुभयो, “पछिल्लो समय निरन्तर सुनको मूल्य बढेसँगै उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनको माग बढ्न सकेको छैन ।” 

गत आव २०८१/८२ मा त सुनको आयात ५० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपियाँ बराबरको एक हजार ३८९ केजी सुन आयात भएको छ । अघिल्लो आव २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपियाँ बराबरको दुई हजार ६५१ केजी सुन आयात भएको थियो । 

गत आवमा सुनको आयात घट्दा राजस्व सङ्कलनसमेत आधाले घटेर एक अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपियाँ सङ्कलन भएको छ । अघिल्लो आवमा सुन आयातबाट तीन अर्ब ६४ करोड ८३ लाख सात हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

गत आवको बजेटमार्फत सुनको भन्सार महसुल बढाएर २० प्रतिशत पुगेको थियो । व्यवसायीको विरोधपछि गत कात्तिकमा भन्सार महसुल २० प्रतिशतबाट घटाइएको थियो । त्यसको प्रभावले गर्दा पनि सुनको आयातमा कमी भएको शाक्यको भनाइ छ ।  

सरकारले चालु आव २०८२/८३ को बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । यसको असरले गर्दा पनि सुनको आयातमा कमी भएको व्यवसायीको भनाइ छ । 

विलासिता कर र भ्याट फिर्ता गर्नुपर्ने मागसहित व्यवसायी विरोधमा उत्रेपछि सरकारले करको विषयमा अध्ययन गर्न कार्यदल गरेको थियो । कार्यदलले अन्तिम प्रतिवेदन पेस नगरेकाले पनि कर र भ्याट यथावत् रहेको व्यवसायीको भनाइ छ । सुनमा लगाएको विलासिता करले सुन थप महँगो हुँदा कारोबार न्यून भएको भएको व्यवसायीको भनाइ छ । मुख्य बजारका सुन पसलमा सामान्य कारोबार भए पनि अन्य पसल भने सुनसान रहेका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend