Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पोखराको फेवाताल डुङ्गा सयर गर्दै हायू परिवार


सूचना कुण्ड
पोखराको फेवाताल डुङ्गा सयर गर्दै हायू परिवार

पोखरा , साउन १४ : सिन्धुलीको घर छाडेर पोखरा आइपुगेका हायू परिवार अहिले गण्डकी प्रदेशको पोखरा महानगरमा रमाइरहेका छन् । बुधबार बिहान हायू परियारलाई सम्झाएर गाउँ फर्काउन पोखरा आइपुगेको टोली साँझ खाली हात सिन्धुली फर्किएको छ ।

गोलन्जोर गाउँपालिका–६, बिखर कटेरीमा बस्ने १६ जना हायू परिवारका सदस्यलाई गाउँ फर्काउन वडाध्यक्ष रविनकुमार श्रेष्ठको नेतृत्वमा आफन्तसहित पोखरा आइपुग्नुभएको थियो । घर, वस्तुभाउ छाडेर पोखरा आएको परिवारकी मूली उर्मिला हायूले अब गाउँ नफर्किने अडान सुनाउनुभयो ।  

थलैमा बाँधिएको भैँसी, बाख्रा, कुखुरा खुला छाडेर सम्पर्कविहीन बनेको हायू परिवारका १६ जना र तीन जना आफन्तसहित १९ जना अहिले पोखरा–३०, गगनगौंडामा कोठा भाडामा लिएर बस्न थालेका छन् । उर्मिलाले आफूहरू सजिलोसँग बाँच्न पोखरा आएको बताउनुभयो । “हामीहरू बिरामी भयौं, ठाउँको असुविधा पनि भयो” उहाँले भन्नुभयो, “यतै काम गर्ने भनेर आएका हौँ ।”

६ जना छोरा, ६ छोरीसहितको उर्मिलाको परिवारका आधा जति सदस्य स्कुल जाने उमेरका छन् । उहाँका श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ । उर्मिलाका जेठा छोरा राजु टाढा स्कुल भएको र परिवारका सदस्य बिरामी परिरहेकाले गाउँ छाडेर आएको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठसहितका आफन्तलाई राजुले केही दिन सोचेर निर्णय दिने बताउनुभयो ।  

शुक्रबारबाट ठुलो परिवार सम्पर्कविहीन भएपछि परिचालित भएको सुरक्षा संयन्त्रले सोमबार साँझ हायू परिवारलाई पोखरामा फेला पारेको थियो । बिखरकटेरी एकान्त ठाउँमा रहे पनि साह्रै विकट भने नभएको वडाध्यक्ष रविनकुमार श्रेष्ठको भनाइ छ । “बिजुली पुगेको छ, घरमै खानेपानीको धारा छ । बजार पनि आधा घन्टामै पुगिन्छ” उहाँले भन्नुभयो, “बस्तुभाउ, घर छाडेर, कसैलाई पत्तै नदिई किन जानुभयो, आश्चर्यमा परेका छौँ ।” 

गोलन्जोर वडा ६ मा ५० घर जति हायूको बसोवास छ । वडाध्यक्ष श्रेष्ठ काम गर्ने सदस्य धेरै नभएकाले यहाँ बाच्न कठिन हुने भएकाले पनि हायू परिवारलाई फर्काउन चाहेको बताउनुहुन्छ । “त्यही घरमा बस्न चाहे किन्ने व्यवस्था गरिदिन्छौं, अरु ठाउँमा बस्न चाहे पनि घर, खेतीको व्यवस्था गरिदिन्छौं फर्कनोस् भनेका छौँ” उहाँले भन्नुभयो, “केही दिनमा निर्णय दिन्छौ भन्नुभएको छ । हामी उहाँहरूलाई गाउँमै फर्काएर सहज जीवन बाँचेको हेर्न चाहन्छौँ ।”

मङ्गलबार प्रहरीले हायू परिवारका सदस्यलाई आफन्तको जिम्मा लगाएको थियो । पोखरा महानगरपालिका वडा ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा ज्वाइँ धनबहादुर तामाङको जिम्मा लगाइएको थियो । धनबहादुर उर्मिलाकी छोरी कमला हायुका श्रीमान् हुनुहुन्छ । तनहुँको बासिन्दा तामाङ पोखरा मुग्लिन सडक विस्तार आयोजनामा काम गर्नुहुन्छ । उहाँकै आडभरोसामा हायू परिवार पोखरा आएको देखिएको छ ।

हायूहरुको रामेछाप, सिन्धुलीसहित सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहामा बसोवास छ । राज्यले २०६४–६५ देखि हायू जातिलाई मासिक भत्ताको समेत व्यवस्था गर्दैआएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हायू जातिको जनसङ्ख्या तीन हजार ६९ छ । हायूको आफ्नै भाषा भए पनि वक्ताको कम हुँदै गएका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend